नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने सम्बन्धि भएको भनिएको सैद्धान्तिक सहमतिको स्वागत गरेका छन् । सरकारले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सुरुदेखि नै यो प्रावधान ठिक नभएको र संशोधन गर्नुपर्छ भन्दै आएका मल्लले हालै यो प्रावधान संशोधन गर्ने सहमति भएको समाचारहरु आएपछि सकारात्मक भएको बताएका हुन् ।
‘विद्युत्मा लगाइएको भ्याट फिर्ता गर्ने सरकारको पहल स्वागतयोग्य छ’ उनले भने, ‘ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ज्यूले अडान नछोडी निरन्तर पहल गर्नुभएकोमा म धन्यवाद पनि दिन चाहन्छु ।’
विद्युतमा भ्याट लगाइँदा आम उपभोक्ता, उद्योग तथा व्यवसायको विद्युत् लागत बढ्ने भन्दै उनले विगतदेखि नै यो प्रावधान संशोधन गर्न अनुरोध गरेका थिए । अब भ्याट फिर्ता गर्ने पहल अघि बढेपछि उपभोक्ता, उद्योग तथा व्यवसायको विद्युत लागत घटाउन र विद्युत् खपत बढाउन सकारात्मक योगदान पुग्ने मल्लको विश्वास छ ।










