Saturday, January 17, 2026
spot_img

द्रुत गतिमा ‘ग्रोथ’ गर्दै अपि पावर: अब विद्युत व्यापारदेखि अपार्टमेन्ट निर्माणसम्मका योजना

spot_img
spot_img

कोही पनि मान्छे जन्मिनासाथ सु–परिचित हुँदैन। हुर्काइसँगै उसले गर्ने कर्मले मान्छेको पहिचान स्थापित गर्दै लैजान्छ । निरन्तरता र लगनशीलताले नै मान्छेको भविष्य निर्धारण गर्छ भने जस्तै कम्पनीहरुको हकमा पनि सञ्चालकहरुको लगनशीलता र कर्मचारीको मेहनतले भाग्य र भविष्य निर्धारण हुन्छ ।

समाजमा अमिट छाप छोडेकाहरु सयौँ वर्षसम्म चर्चामा रहिरन्छन्। ठिक यसैगरि, कुनै क्षेत्रमा विशिष्ठता हासिल गरेका कम्पनीहरु कालान्तरसम्म उदाहरणीय बनिरहन्छन् । त्यस्ता कम्पनीहरुले बनाएका परियोजनाहरु सिकाइका रुपमा उपयोग समेत हुने गर्दछन् । यी प्रसङ्ग यहाँ किन उल्लेख गरिएको हो भने हामीले आज यस्तो एउटा कम्पनीको विषय प्रस्तुत गर्दैछौँ, जो आज मात्रै होइन, वर्षौसम्म नेपाली जनजनको मुखारविन्दमा झुण्डिरहने छ, जसरी सुदूरको अपि हिमाल आम मानिसको जनजिब्रोमा छाइरहेको छ।

२०६० को दशकमा सुदूरपश्चिमको दार्चुलामा नेपाल विद्युत प्राधिकरणले बनाउने भनिएको चमेलिया जलविद्युत आयोजनाको खुबै चर्चा थियो । सो आयोजना निर्माण गर्ने भनिएको वर्षौ भईसकेको भएपनि ठोस प्रगति हुन सकेको थिएन । सुदूरपश्चिमवासीमा यो आयोजना कहिल्यै पनि नबन्ने हो कि भन्ने निराशा थियो । यस्तो अवस्थामा अपि हिमाल जस्तै अटल र उच्च अठोटका साथ अपि पावर लिमिटेड दार्चुला जिल्ला भई वहने नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना बनाउन कम्मर कसेर लगायो। उत्पादन अनुमति पाएको मितिबाट २ वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । जिल्लामै विद्युत प्राधिकरणको चमेलिया आयोजना बन्न थालेको वर्षौ हुँदा पनि आयोजना सम्पन्न नभएको अवस्थामा २ वर्षमा हाइड्रो बन्नेमा आम जिल्लाबासीहरु सशंकित थिए । ‘सर्वसाधारणले मात्रै होइन, यहीँ क्षेत्रका जानकारहरुले समेत २ वर्षमा जलविद्युत आयोजना बनाउँछु भनेकोमा अपि पावरलाई गिज्याएको हिजो जस्तै लाग्छ’ कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपाने भन्छन्।

तर अपि पावरसँग अपि हिमालको जस्तै मनोबल उच्च थियो, सँगै दृढ संकल्प र इच्छाशक्ति पनि उत्तिकै थियो। नेतृत्वको प्रष्ट दिशानिर्देश, आयोजनामा संलग्न जनशक्तिको मेहनत र लगन तथा  स्थानीयवासीको साथ र  सहयोगले अपि पावरले सो आयोजना १७ महिनामै निर्माण सम्पन्न गरेर सबैलाई चकित पारिदियो। यतिसम्म कि विद्युत प्राधिकरणले अपिले यो परियोजना सुरु गर्नुभन्दा अगाडी काम थालेको आफ्नो आयोजना निर्माणको क्रममा समेत यस आयोजनाको बिजुली प्रयोग गरेको थियो ।  यस आयोजनाले २०७२ साल भाद्र २ गतेदेखि व्यवासायिक विद्युत उत्पादन गरि रहेको छ । सुदुरपश्चिम प्रदेशमा नीजि लगानीबाट सञ्चालन भएको यो नै प्रथम आयोजना हो । । सुदुरपश्चिमलाई लोडसेडिङमुक्त बनाउन यस आयोजनाको ठूलो भूमिका रहेको छ ।

कम्पनीले दोश्रो जलविद्युत आयोजनाको रुपमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना पनि यसै नदीमा प्रथम आयोजना भन्दा करिव ५ किलोमिटरमाथी बाँध निर्माण गरी निर्माण कार्य सम्पन्न गरेको छ । यस आयोजनाले मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यवसायिक उत्पादन गरि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

यसरी सुरु भएको अपि पावरको यात्रा अहिले थप उचाईमा पुग्दै छ । सुदूरपश्चिमबाट सुरु भएको अपि पावरको यात्रा अहिले पूर्वसम्म नै पुगिसकेको छ । विद्युत आयोजनाहरु विकास गर्ने भनेर २०६० असार ५ गते स्थापना भएको अपि पावर प्रा.लि. कम्पनीमा ब्यापक जनसहभागिता गराउने उदेश्यले २०७० साउन ६ गतेदेखि पब्लिक कम्पनीको रुपमा परिणत गरि कार्य गरिरहेको छ । यस कम्पनीमा हाल डेढ लाख शेयरधनीहरु रहेका छन्। नेपालमा रहेका कुल डिम्याट खातामध्ये २ देखि ३ प्रतिशत खातामा अपि पावरको शेयर रहेको छ।  सुरुमा कम्पनीमा १०० कित्ता शेयर हुने शेयरधनीको शेयर अहिले बढेर ४०० कित्ता पुगेको छ । कम्पनीले मुनाफालाई बोनस शेयरको रुपमा लगानीकर्तालाई वितरण गर्ने नीति लिएको छ । र मुनाफा भएको रकमले अन्य नयाँ आयोजना निर्माण गर्ने गरेको छ । साथै समय समयमा आवश्यकता अनुसार हकप्रद मार्फत पनि रकम जुटाउदै आएको छ ।

यसै नीतिको कारण ८.५ मेगावाटको जलविद्युत आयोजना बनाएर उदाएको यस कम्पनी कम्पनी हालको अवस्थामा ६२.५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने कम्पनी भएको छ । १०० करोड चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको चुक्ता पुँजी अहिले करिब ६०० करोड भईसकेको छ ।

अहिले कम्पनीले हाइड्रो मात्र नभई सोलार आयोजनाबाट पनि विद्युत उत्पादन गरि देशको कुल उर्जा उत्पादनमा ठूलो योगदान पुर्याईरहेको छ । हाल कम्पनीले तीन वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ। सुदूरपश्चिमको दार्चुलादेखि सुदुरपुर्वको ताप्लेजुङसम्म नै आयोजना निर्माण गरि कम्पनीले देशभर नै आफ्नो शशक्त उपस्थिति देखाएको छ । जलविद्युत आयोजना ३० वर्षपछि सरकारीकरण हुने भएकोले कम्पनीले एउटा आयोजना सरकारीकरण भएपछि त्यसले कम्पनीको आम्दानी नगुमोस् भनेर केही वर्षको अन्तरलमा नयाँ नयाँ आयोजना निर्माण गरिरहेको छ । साथै सरकारीकरण नहुने सोलार आयोजना, कृषि उत्पादन, हाउजिङ निर्माण लगायतला क्षेत्रमा लगानी गरिरहेको छ । एउटा ‘अम्ब्रेला अर्गनाइजेसन’को रुपमा रहेको अपि पावरले जलविद्युत र सोलार बाहेक अन्य थुप्रै क्षेत्रमा लगानी गरि लगानीलाई विविधिकरण गरिरहेको छ । अब कम्पनीले नवीनतम् हाइड्रोजन उर्जा उत्पादनको लक्ष्य लिएको छ भने थप लगानी विविधिकरणको लागि पानी उत्पादन गर्ने र अपार्टमेन्टसमेत निर्माणको तयारी गरिरहेको छ । यसरी कम्पनी द्रुत गतिमा दिगो ‘ग्रोथ’ गर्दै एउटा अब्बल र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भएको छ ।

 ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न

अहिले कम्पनीले ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले दार्चुलामा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना, दार्चुलामै ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना र दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो ।

यी ३ वटा जलविद्युत आयोजनामध्ये  ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भईसकेको छ । यस आयोजनाबाट कम्पनीले वार्षिक २३ करोड आम्दानी गर्छ । ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाले पनि वार्षिक २३ करोड नै आम्दानी गर्छ । ४० मेगावाट क्षमताको अपर चमेलियाले भने वार्षिक १ अर्ब ३५ करोड आम्दानी गर्छ । यसरी कम्पनीले जलविद्युत आयोजनाबाट वार्षिक १ अर्ब ८१ करोड आम्दानी प्राप्त गर्ने देखिन्छ ।

३ वटा सोलार आयोजना सम्पन्न

यी बाहेक कम्पनीले ३ वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

यी ३ वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका ३ वटै सोलार आयोजना ऋणमुक्त छन् । यी आयोजनाबाट कम्पनीले क्रमश: ४ करोड ५० लाख, १ करोड १५ लाख र १ करोड १५ लाख रुपैयाँ वार्षिक आम्दानी गर्छ ।

यसरी सोलार आयोजना र जलविद्युत आयोजना गरि कम्पनीको कुल वार्षिक आम्दानी १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ हुन आउँछ ।

७ कम्पनीमा शेयर लगानी

यी बाहेक अपि पावर कम्पनीले विभिन्न ७ वटा अन्य कम्पनीमा शेयर लगानी गरेको छ । कम्पनीले इङ्गवा हाइड्रोपावर लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गरेको छ । इङ्गवा हाइड्रोको कुल चुक्ता पुँजी ६० करोड रहेकोमा अपि पावरको १५ करोड लगानी रहेको छ । आईपीओ निष्काशन गरि शेयरबजारमा समेत सुचिकृत भईसकेको यस कम्पनीले ९.७ मेगावाटको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० चैत्र देखि व्यापारिक उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०८१/८२ देखि यस आयोजनाले अपि पावरलाई लाभांश दिन सक्ने आंकलन कम्पनीको छ ।

त्यस्तै अपि पावरले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ३२ करोड ९२ लाख बराबरको शेयर लगानी गरेको छ । यस आयोजनाले ११ मेगावाट क्षमताको माथिल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८१ फागुनमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।  कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओ निष्काशनपश्चात यस कम्पनीमा अपि पावरको स्वामित्व ४५ प्रतिशत रहनेछ ।

अपि पावरले ७ करोड ५ लाख रुपैयाँ शेयर लगानी गरेर आफ्नो सहायक कम्पनीको रुपमा अपि हाइड्रो मेकानिकल लिमिटेड स्थापना गरेको छ । यसले अपि पावरलाई वार्षिक १० प्रतिशत लाभांश दिने अनुमान छ । यस कम्पनीले जलविद्युत आयोजनाहरुको लागि आवश्यक हाईड्रो मेकानिकल उपकरणहरु निर्माण गर्दछ । जलविद्युत आयोजनाहरु समयमा निमार्ण सम्पन्न गर्न चाहिने फलामका सामानहरु (पेनस्टक पाईप, गेट, बाईफर्केशन, ट्रान्सर्याक, बेलमाउथ आदि) यस कम्पनीले उत्पादन गरिरहेको छ ।

अपि पावरले अपि चमेलिया पावर लिमिटेडमा २ अर्ब २० करोड लगानी गरेको छ । यस कम्पनीले ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । हाल आयोजनाको विद्युत खरिद बिक्री सम्झौता गर्ने चरणमा पुगेको छ। विद्युत खरिद सम्झौतापछि २०८१ को अन्त्यसम्ममा आयोजना निर्माणको चरणमा जाने छ ।

नेपालमा उत्पादित ऊर्जा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यका साथ २०७५ साल चैत्र ११ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड दर्ता भएको छ । यस कम्पनीमा पनि अपि पावरले १० लाख रुपैयाँ लगानी गरेको छ । यस कम्पनीले विद्युत ब्यापारको अनुमति पाएपछि अपिले आफ्नो लगानी बढाएर १ करोड पुर्याउने तयारी छ । यस कम्पनीले अपि पावरलाई वार्षिक ५ देखि १० प्रतिशत लाभांश दिने अनुमान छ ।

अपि पावरको भगिनी संस्थाको ‍रुपमा मकालु डेभलपर्स लिमिटेड र लटीनाथ कन्स्ट्रक्सन रहेको छ । यी कम्पनीले अपि पावरलाई आवश्यक पर्ने सिभिल तर्फको सामग्री उत्पादन गर्छ । मशिनरी बाहेक हाइड्रो निर्माणको लागि चाहिने मेकानिकल र सिभिल तर्फको सामान अपि पावर आफै उत्पादन गर्छ । आफैँले उत्पादन गर्दा जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने र खर्च पनि घटाउन सहयोग पुगेको कार्यकारी सञ्चालक न्यौपाने बताउँछन् ।

 अबको लगानी पानी अपार्टमेन्टमा

शेयरधनीलाई बढी प्रतिफल दिन र लगानी विविधिकरण गर्नको लागि कम्पनीले पानी उत्पादन गर्ने र अपार्टमेन्ट निर्माण गर्ने तयारी पनि थालेको छ । अपि पावरले १ अर्ब ३५ करोड लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ नामको पानी बजारमा ल्याउने तयारी गरेको छ । दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ बाट पानी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । सो पानी सुदूरपश्चिमा नै खपत हुनेछ । हाल मिनरल वाटर र प्रोसेस्ड वाटर गरि  दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीको तयारी छ । यो कम्पनीको संस्थागत सामाजिक कार्यको रुपमा पनि रहने र कम्पनीको ब्राण्ड बनाउन पनि सहज हुने कम्पनीको विश्वास छ ।

यस अलावा कम्पनीले ललितपुरको झम्सिखेलमा १२० करोडमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र २ वर्षमा लगानी सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीको  रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाई छ । निर्माण सम्पन्न पश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।

 हाइड्रोजन उत्पादन

जलविद्युत (हरित उर्जा) बाट हाइड्रोजन ऊर्जा तथा अमोनिया तथा रसायनिक मल उत्पादन गर्ने मार्गमा नमूना स्वरुप पहिलो आयोजनाको रुपमा १ मेगावाट क्षमताको हाइड्रोजन आयोजना निर्माण गर्न पनि अपि पावर कम्पनी लागि परेको छ । भारतको नयाँ दिल्लीमा कार्यालय रहेको Greenzo Power Pvt. Ltd. सँग सहकार्य गरेर कम्पनीले नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गर्ने तयारी गरिरहेको छ । सरकारले हाइड्रोजन नीति ल्याए पनि नेपाल मै हाइड्रोजन उत्पादन गर्नको लागि छुट्टै ऐन, नियमावली र कार्यविधि नै आवश्यक पर्ने कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेको भनाइ छ । कुन सामान ल्याउनमा कति भन्सार शुल्क हुने, उत्पादनपछि कसरी वितरण हुने, करको दरहरु कति हुने लगायतका सबै विषय प्रष्ट हुनका लागि पनि हाइड्रोजन उत्पादन गर्न छुट्टै ऐन, नियमावली र कार्यविधि चाहिने उनी बताउँछन् ।

बैंकको साथ

बैंकहरुको वित्तीय सहयोग नभएको भए अपि पावरलाई आजको दिनमा ६२.५ मेगावाट विद्युत उत्पादन गर्न सम्भव हुने थिएँन । कम्पनीको आयोजनाहरु निर्माणमा नेपाल बैंक, नेपाल एसबिआई बैंक, साविकको बैंक अफ काठमाण्डौ (हाल ग्लोबल आइएमई बैंक), प्रभु बैंक, प्राईम कर्मसियल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, साविकको सेञ्चुरी बैंक (हाल प्रभु बैंक), नबिल बैंक, तथा कर्मचारी सञ्चय कोष लगायतले वित्तिय सहयोग प्रदान गरेका छन् । कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड गढ आयोजना र तीन वटै सोलार आयोजना निर्माण गर्न लिएको ऋणको सावाँ र ब्याज छुट गरि यी आयोजनालाई ऋणमुक्त बनाईसकेको छ ।

राजश्व र रोजगारीमा योगदान

आजको दिनमा ६२.५ मेगावाट विद्युत उत्पादन गरिरहेको अपि पावरले देशको राजश्वमा पनि ठूलो योगदान दिइरहेको छ । कम्पनीले विद्युत विकास विभागलाई बिजुली बिक्रीको २ प्रतिशतको दरले रोयल्टी प्रदान गरिरहेको छ । त्यस्तै हरेक हाइड्रो आयोजनाबाट प्रति वर्ष प्रतिमेगावाट १ लाख रुपैयाँ रोयल्टी तिरेर नेपाल सरकारको राजश्वमा योगदान दिईरहेको छ । साथै कम्पनीले आयोजना निर्माणको क्रममा हजारौ रोजगारी सिर्जना गरेको थियो । आयोजना निर्माण सम्पन्न पश्चात हाल पनि कम्पनीले आफ्नो केन्द्रीय कार्यालय र आयोजना स्थलमा गरि ८० जना बढीलाई रोजगारी प्रदान गरिरहेको छ ।

व्यवसायिक खेती तथा बाख्रा पालन

अपि पावर कम्पनी लिमिटेडले कृषि कार्यक्रम अन्तर्गत जलविद्युत तथा सौर्य आयोजनाहरुमा कम्पनीले खरिद तथा लिजमा लिएका जग्गाहरुको अधिकतम सदुपयोग गरि व्यवसायिक रुपमा कफि खेती, फलफूल खेती गर्ने कार्यको थालनी गरेको छ । कम्पनीले आयोजना स्थलहरुमा आधुनिक बाख्रा पालनको लागि खोर निर्माण गरी पाईपलाईन क्षेत्र तथा सोलार प्यानलको आसपासमा घाँस रोपी व्यवसायिक रुपमा वोयर जातका बाख्रा पालन गरि रहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व

कम्पनीले आयोजना निर्माणको क्रममा आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष प्रभावितहरुका लागि निभाउनुपर्ने सामाजिक उत्तरदायित्व निभाउँदै आएको छ। आयोजनाहरुमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित क्षेत्रमा सिचांईका लागि कार्य गरेको छ । आयोजना क्षेत्रहरुमा परेको जग्गा तथा वन क्षेत्रको उपयोग वापत त्यसको क्षतिपूर्ति स्वरुप नगद तथा जग्गा सट्टा भर्ना गरि वृक्षरोपण कार्य गरेको छ ।

यस अलवा प्रभावित क्षेत्रहरुमा ग्रामीण विद्युतिकरण, स्वास्थ्य चौकीहरु निर्माण, विद्यालय भवनहरु निर्माण, मन्दिर हरु एंव घाटको निमार्ण, विद्युतिय घट्ट निर्माण तथा सामाजिक भवनहरु मर्मत सम्भारको कार्यहरु गरि रहेको छ । आयोजना स्थलहरुमा आवश्यक पर्ने बाटाहरुको निमार्ण तथा स्तर उन्नती गर्ने कार्य कम्पनीले गरिरहेको छ । कम्पनीले नेपाली कृषकहरुलाई लाभ हुनेगरी विभिन्न कृषि विकासका कार्यहरु समेत गरि रहेको छ ।

नियमित लाभांश

हरेक वर्ष जसो लाभांश वितरण गर्नेमा कम्पनीमा अपि पावर पनि पर्दछ । कम्पनीले आर्थिक २०७२/७३ देखि नियमित रुपमा लाभांश वितरण गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत बोनस शेयर, आर्थिक वर्ष २०७३/७४ मा ८ प्रतिशत बोनस शेयर, आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत बोनस शेयर, २०७५/७६ मा ५ प्रतिशत बोनस शेयर तथा २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले अपर चमेलिया निर्माणको लागि विभिन्न ४ चरणमा हकप्रद पनि निष्काशन गरेको छ ।

कम्पनीको लाभांश हकप्रद वितरणको विवरण

भावी कार्यक्रम

पानी उत्पादन र अपार्टमेन्टमा लगानी बाहेक कम्पनीले भावी दिनमा बिजुलीको ब्यापार गर्ने गरि योजना बनाइ रहेको छ । कम्पनीले आन्तरिक तथा अन्तराष्ट्रिय रुपमा गरि दुईवटै तरिकाबाट विद्युत व्यापार गर्नको लागि सरकारसँग लबिङ गरिरहेको छ । विद्युत व्यापार नै जलविद्युतको भविष्य भएकोले अब कम्पनीले विद्युत ब्यापारको अठोट लिएको छ । कम्पनीले सुदूरपश्चिममा बनाएको चमेलियाको आयोजनास्थलबाट ४० किलोमिटर भारततर्फ लागेपछि भारतीय ग्रिड भेटिन्छ । साथै पुर्वमा पनि ५० किलोमिटर दुरीमा नै भारतीय ग्रिड रहेको र त्यहाँसम्म पुग्ने प्रसारण लाइन आफैले निर्माण गरेर भारतमा विद्युत व्यापारको ढोका खुल्नेमा कम्पनी आशावादी देखिएको छ । साथै अहिले संसदमा दर्ता रहेको विद्युत विधयेकमा विद्युत व्यापारको लाईसेन्स निजी क्षेत्रलाई पनि दिने व्यवस्था प्रस्ताव गरिएकोले अब कम्पनीले विद्युत व्यापारमा जाने भावी योजना बनाएको छ । साथै कम्पनीले स्वदेशी तथा विदेशी कम्पनीसँगको साझेदारीमा १०० मेगावाट भन्दा ठुला आयोजना बनाउने लक्ष्य लिएको छ ।

साथै नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि अपि पावरले सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने कम्पनीको तयारी छ । टेण्डर पाएको ६ महिनाभित्र निर्माण सुरु गर्न सकिने भएकोले ३० मेगावाटको सोलार आयोजना पनि २०८१ भित्र नै सुरु गर्ने कम्पनीको योजना छ ।

त्यस्तै सरकारले राष्ट्रिय प्राथमिकता क्षेत्रमा राखेको कृषि, पर्यटन र उर्जामा अपि पावरले आफ्नो उपस्थिति बनाउने तयारीमा छ । त्यसको लागि कम्पनीले कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नको लागि विशेष योजना बनाएको छ । कृषिमा लगानी गर्नको लागि ठुलो जग्गा चाहिने भएकोले त्यसको सरकारले हाल प्रयोगमा नरहेका सरकारी जग्गा भाडामा दिएर सरकार र निजिक्षेत्रको साझेदारीमा पीपीपी मोडलमा अघि बढ्ने कम्पनीको योजना छ ।

साथै अपि पावरले पाथिभरा, मुक्तिनाथ र स्वर्गद्वारी जस्ता स्थानमा धार्मिक पर्यटनको योजना बनाएको छ । ति स्थानमा रिसोर्ट बनाउने र मौलिक खानाको स्वाद चखाउने गरि आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कम्पनीको योजना छ । नियामक निकायको अनुमति पाएमा ग्रिन बोन्ड निष्काशन गरेर लगानी जुटाउने  योजनामा कम्पनी छ  ।

उत्कृष्ट कम्पनी बन्ने लक्ष्य

कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने अपि पावरलाई नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो, सबैभन्दा धेरै प्रतिफल दिने र सबैभन्दा राम्रो जलविद्युत कम्पनीको रुपमा स्थापित गराउनु आफ्नो लक्ष्य रहेको र आफु त्यस लक्ष्य प्राप्तिको लागि परेको बताउँछन् । सोही कारण लगानीकर्तालाई उच्चतम प्रतिफल दिन लगानी विविधिकरण गरेर जलविद्युत, सोलार, पानीदेखि अपार्टमेन्टसम्मको यात्रा तय गरिएको उनको भनाइ छ ।

अहिलेसम्म कम्पनीले करोडौ लगानी गरिसकेको र अब भने त्यसको प्रतिफल खाने बेला आएको न्यौपाने बताउँछन् । उनी भन्छन् ‘अपि पावर भविष्यको हिरा हो, अपि पावरको लोगोमा रहेको निलो रङ्ग जस्तै अपि पावर ‘ब्लुचिप कम्पनी’ हो, हरेक नेपालीसँग  १० कित्ता नै भएपनि अपि पावरको शेयर हुनुपर्छ ।‘

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img