नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्षमा प्राधिकरणले ९ अर्ब ६ करोड नाफा आर्जन गरेको जानकारी दिएका छन् । प्राधिकरणको ४०औं वार्षिकोत्सबमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्दै शाक्यले प्राधिकरणले गत आर्थिक वर्ष २०८१/०८२ मा ९ अर्ब ६ करोड बढी नाफा कमाएको बताएका हुन् ।
उनका अनुसार गत आर्थिक वर्षमा प्राधिकरणले १ खर्ब ३८ अर्ब आम्दानी गरेकोमा १ खर्ब २९ अर्ब खर्च भएको छ ।
यस्तै, मुलुकको कुल विद्युत जडित क्षमता ३५ सय ९१ मेगावाट पुगेको पनि शाक्यले जानकारी दिएका छन् ।
झ्याप्प झ्याप्प बिजुली गइरहेको समस्याबारे पनि शाक्यले गत वर्ष देशभरीमा १ हजार १९० पटक विद्युत ट्रिप भएको र अब यस्तो समस्या घटाउन प्राधिरकणले आवश्यक योजना बनाएर काम सुरु गरिसकेको पनि जनाएका छन् ।
शाक्यका अनुसार मुलुकको कुल विद्युत खरिद बिक्री सम्झौता ११ हजार ४ सय मेगावाट भन्दा बढी पुगेको छ ।
शाक्यले विद्युत निकासी पनि बढ्दो क्रममा रहेको पनि बताएका छन् । उनका अनुसार भारतमा १ हजार मेगावाट भन्दा बढी बिजुली निर्यात भइरहेको छ ।









