नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल आएर उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको ५० प्रतिशत उडान कटौती गरेको छ । क्यानले कात्तिक २३ देखि लागु हुने गरी नेपाल आइरहेका विदेशी वायुसेवा कम्पनीका ५० प्रतिशतसम्म उडान कटौती गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी वे, जहाज एप्रोन, पार्किङ क्षेत्र निर्माण लगायतका काम भइरहेका कारण क्यानले उडान कटौती गरेको हो ।
कुन एयरलाइन्सको कति उडान कटौती ?
प्राधिकरणले कतारबाट काठमाडौँ आउने कतार एयरवेजले गरिरहेको दैनिक ४ उडानलाई कटौती गरेर दुईमा झारिदिएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट नेपाल आउने फ्लाई दुबईले हाल दैनिक ५ उडान गरिरहेकोमा यसलाई घटाएर दैनिक २ उडानमा सिमित गरिएको छ ।
यूएईकै सारजहाँबाट आउने एयर अरेबियाको दैनिक ३ उडान कटौती गरेर दैनिक १ उडान कायम गरिएको छ ।
हाल काठमाडौँबाट भारतको नयाँदिल्लीका लागि दैनिक ३ उडान गर्दै आएको एयर इन्डियाको उडान कटाएर ३ मा झारिएको छ । एयर इन्डियाले काठमाडौँबाट कोलकाताका लागि हप्तामा ४ उडान गर्दै आएकोमा यो तालिका भने यथावत राखिएको छ ।
भारतबाटै काठमाडौँ आउने इन्डिगो एयरलाइन्सले हाल दिल्लीका लागि २ र मुम्बईका लागि २ गरिरहेकोमा यसलाई कटौती गरेर दिल्लीका लागि एक र मुम्बईका लागि एक उडान मात्रै गर्ने गरी तालिका बनाइएको छ ।
मलेसियाबाट आउने मालिन्दो एयरको दैनिक ३ उडानलाई एक उडानमा झारिएको छ ।
नेपाली एयरलाइन्सका उडान पनि विदेशले कटौती गरे
नेपाल आएर यहाँबाट विभिन्न देश गइरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान भारी मात्रामा कटौती भएपछि अन्य देशले नेपाली एयरलाइन्स कम्पनीका उडान पनि कटौती गरिदिएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सका उडान पनि कटौती भएको बताइएको छ ।
प्राधिकरणले यूएईका फ्लाई दुबई र एयर अरेबियाको उडान कटौती गरेपछि यूएईले नेपाल एयरलाइन्सलाई दुबई उडान गर्न तालिका नै दिएको छैन ।
यससँगै काठमाडौँबाट यूएईका लागि सातामा १४ उडान गरिरहेको हिमालय एयरलाइन्सको उडान संख्यालाई यूएईले हप्तामा जम्मा ४ उडान मात्रै दिएको छ ।
‘छलफल नगरी एक्कासी निहुँ खोज्दा हामीलाई नै घाटा’
पर्यटन व्यवसायीहरुका अनुसार नेपाल नागरिक उड्डययन प्राधिकरणले कुनै छलफल बिना नै नेपाल आएर विदेशका गन्तव्यमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडानमा भारी कटौती गरेपछि यसको असर नेपाली एयरलाइन्स कम्पनीदेखि नेपालबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरुले भोग्नुपर्ने भएको छ । सँगै, मंसिरबाट नेपालमा पर्यटक आगमन बढ्ने भएपनि कार्तिक २३ बाटै अन्तर्राष्ट्रिय उडान संख्या कटौती हुँदा पर्यटक आगमनमा पनि त्यसले असर पार्ने व्यवसायीहरुको गुनासो छ ।
‘पर्यटन सिजनमै उडान कटौती हुँदा त्यसको गम्भीर असर मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था छ, साथै नेपाली युवाहरुको श्रम गन्तव्य मुलुककै उडान भारी मात्रामा कटौती हुँदा वैदेशिक रोजगारीमा जाने यात्रुहरुले दुःख पाउने देखिएको छ’ एक जना पर्यटन व्यवसायीले बिजनेश पानासँग भने, ‘विदेशी एयरलाइन्समा आउनेहरु पर्यटक हुन्छन् भने जानेहरु वैदेशिक रोजगारीमा जाने मजदूरहरु हुन्छन् ।’
के भन्छ प्राधिकरण ?
उड्डयन प्राधिकरणले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएकाले विदेशी वायुसेवाहरूको उडान कटौती गरिएको जनाएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दैनिक २ भन्दा बढी उडान हुने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान मात्रै ५० प्रतिशत कटौती गरिएको छ । दैनिक दुईसम्म उडान भएकाको ३० प्रतिशत उडान संख्या कटौती गरिएको र दैनिक एक मात्रै उडान गर्नेको उडान संख्या यथावत राखिएको उनको भनाइ छ ।
कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालन हुनेछ । अहिले बिहान ६ बजेबाट भोलिपल्ट बिहान ३ बजेसम्म गरी दैनिक २१ घण्टा चलिरहेको छ । कात्तिक २३ गतेदेखि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द हुनेछ ।









