नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्षबाट युवराज अधिकारी अवकाश भएको करिब एक हप्ता बितिसक्दा पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । बल्ल खुला प्रतिस्पर्धाबाट कार्यकारी अध्यक्ष नियुक्ति गर्ने भन्दै समिति बनाएको छ ।
तत्कालिन सरकारले अधिकारीलाई २०७८ कार्तिकमा कार्यकारी अध्यक्ष बनाएको थियो । विवादित पृष्ठभूमीका अधिकारीलाई तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका नेता प्रेम आलेले नियुक्त गरेका थिए । त्यसको केही समय पछि नै आलेसँग अधिकारीको दोस्ती टुट्यो । त्यसपछि आलेले ‘पार्टीलाई सहयोग गरेका कारण अधिकारीलाई बाध्य भएर नियुक्त गर्नुपरेको’ सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।
तर, अहिले कार्यकाल सकिएर कार्तिक ४ गतेदेखि नै अधिकारी बिदा भइसकेका छन् । ‘उहाँ अफिसबाट औपचारिक रुपमा बिदाई हुन सक्नुभएन, कार्तिक ४ गतेदेखि आउनु पनि भएन’ नेपाल एयरलाइन्स स्रोत भन्छ, ‘कार्तिक ७ गतेबाट उहाँको कार्यकाल नै सकियो । एक हिसाबले भन्ने हो भने बाहिर बाहिरैबाट बिदा हुनुभयो भनौ न !’
अझै अधिकारीकै ‘छाँया’
अधिकारी कार्यालय आउन छोडेको दिनबाट गणना गर्ने हो भने नेपाल एयरलाइन्स कार्यकारीबिहिन भएको १० दिन भयो । कार्यकाल सकिएको दिनबाट हिसाब गर्दा पनि एक साता भइसकेको छ ।
स्रोतका अनुसार, अधिकारीले पुन: नियुक्त हुनका लागि जेनजी आन्दोलन पश्चात पनि जोडबल नगरेका होइनन् । तर, प्रधानमन्त्री सुशिला कार्की पुनर्नियुक्ति दिन तयार नभएपछि अधिकारीको प्रयास सफल हुन सकेन ।
आफू दाहोरिन चाहेपनि सफल नभएपछि अधिकारी निमित्तको जिम्मेवारी कसैलाई नदिई बिदा बसे । उनले निगम भित्रैका उच्च पदको कर्मचारीलाई निमित्तको जिम्मेवारी दिनुपथ्र्यो । अधिकारी कार्यकाल सकेर अवकाश भएपछि सरकारले पनि उच्च पदको कर्मचारीलाई कम्तीमा कामु प्रमुखको जिम्मेवारी दिनुपर्ने थियो ।
‘उहाँ (युवराज अधिकारी) आफ्नो कार्यकाल दोहोर्याउन चाहनुहुन्थ्यो, तर त्यो प्रयास सफल नभएपछि आफू निकटका कर्मचारीलाई निमित्त बनाउने खेलमा लाग्नुभयो’ स्रोत भन्छ, ‘निगमको प्रबन्ध निर्देशक/महाप्रबन्धकको १२औँ तहको हुन्छ, अहिले निमगमा ११औं तहमा उपप्रबन्ध निर्देशक जनकराज कालाखेती हुनुहुन्छ । उहाँ (अधिकारी)ले जनकराज कालाखेतीलाई नै निमित्त दिनुपर्ने थियो । तर, कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिलाउन प्रयासरत रहनुभयो ।’
स्रोतका अनुसार १०औं तहका डोलेश्वर कोइराला र अपरेसन विभाग प्रमुख क्याप्टेन दीपु ज्वार्चनमध्ये एक जनालाई निमित्त बनाउने कसरतमा अधिकारी लागिरहेका थिए । ‘उहाँहरु दुइ जनाको दौढधूप त्यसैका लागि बढिरहेको थियो, तर अहिलेको सरकारले उहाँहरु कनिष्ठ हो भन्ने कुरा बुझ्यो’ निगमका एक कर्मचारी भन्छन्, ‘वरिष्ठतम् कर्मचारी हुँदाहुँदै पनि तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने हो भने त्यसले गलत अभ्यासको थालनी हुन्छ भनेर हामीले खबरदारी गरेका थियौँ ।’
अर्को स्रोतले पनि अधिकारीले जाँदाजाँदै कोइरालालाई निमित्त उपप्रबन्ध निर्देशक बनाएर हिडेको बताएको छ । यद्यपी, उनको तह भने १०औँ नै कायम छ । आफूले अवैध रुपमा बिना प्रतिस्पर्धा नियुक्त गरेका ४५ जना करारका कर्मचारीलाई हाँजिर गराउनका लागि अधिकारीले कोइरालालाई निमित्त उपप्रबन्ध निर्देशक बनाएको स्रोतको दाबी छ ।
‘अध्यक्ष ज्यूले तिहार बिदा पछि हाँजिर हुने गरी बिना प्रतिस्पर्धा ४५ जना कर्मचारी भर्ती गर्नुभएको रहेछ, उनीहरुलाई हाँजिर गराउनकै लागि उहाँले कोइराला सरलाई निमित्त उपप्रबन्ध निर्देशक बनाएर जानुभयो’ स्रोत दाबीका साथ भन्छ, ‘कार्तिक ११ गते करार नियुक्तिको पत्र बोकेर आएपछि उनीहरुलाई कोइराला सरले हाँजिर गराइसक्नुभयो । अहिले कहीँ नभएको जात्रा निगमभित्र चलिरहेको छ ।’
अब निमित्त महाप्रबन्धक बनेका कालाखेतीले अवैध रुपमा नियुक्त गरिएका कर्मचारीहरुलाई हटाउनुपर्ने निगमभित्र माग उठेको छ । ‘आइतबारै हामी यस सम्बन्धमा ध्यानाकर्षण गराउँछौँ’ स्रोतले भन्यो ।
सरकारले बल्ल निगमका वरिष्ठ कर्मचारी जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ । उनलाई खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त नहुन्जेलसम्मका लागि निमित्त महाप्रबन्धकको रुपमा कार्य गर्ने अधिकार दिइएको छ । महाप्रबन्धक नियुक्तिको सिफारिस गर्न गठित समितिले एक महिनाभित्र सिफारिस गरिसक्नुपर्नेछ ।











