नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीको ४ वर्षे कार्यकाल सकिएको छ । अधिकारी कार्तिक ४ गतेबाटै बिदामा बसेका थिए । उनको कार्यकाल कार्तिक ७ गतेसम्मको थियो ।
यस बीचमा तिहार बिदा परेकाले उनी कार्तिक ४ गतेदेखि नै बिदामा बसेका थिए ।
मन्त्रिपरिषद बैठकले २०७८ कार्तिक ८ गते अधिकारीलाई ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
कार्यकाल सकिनै लाग्दा उनी विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । पदीय मर्यादा विपरितका गतिविधि गरेको, मिलेमतोमा निगमका जहाजको इन्जिन मर्मतका लागि ठेक्का दिएको र निगमलाई करोडौँ रुपैयाँ नोक्सान पुर्याएको भन्दै अधिकारीविरुद्द हालै मात्रै अख्तियारमा उजुरी परेको थियो ।
वर्तमान सरकारले उनलाई अख्तियारमा उजुरी परेकै कारण पुनर्नियुक्ति नदिएको बताइएको छ । अधिकारीले कार्यकाल थप गर्न दौडधूप गरेपनि प्रधानमन्त्री सुशिला कार्कीले नै अख्तियारमा उजुरी परेको व्यक्तिलाई पुनर्नियुक्ति गर्न नचाहेको बुझिएको छ ।









