Sunday, July 5, 2026
spot_img

नेपाली सडकमा ‘ईभी क्रान्ति’

spot_img

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति निकै दुर्लभ थियो । एकाध सरकारी कार्यालय, विकास साझेदार संस्था र सिमित संख्याका निजी कारबाहेक ईभीको उपयोग निकै कम थियो । तर अहिले अवस्था पूर्ण रुपमा बदलिएको छ । काठमाडौँका सडकदेखि राजमार्ग र जिल्ला जिल्लामा विद्युतीय कारहरू सहजै देखिन थालेका छन् । नयाँ गाडी खरिद गर्ने धेरै ग्राहकको पहिलो रोजाइ नै ईभी बन्न थालेको छ ।

आयातको आँकडाले पनि ईभी बजार विस्तार भइरहेको पुष्टि गर्छ । चालु आर्थिक वर्षको ११ महिनामा १० हजार ८४५ युनिट ईभी कार आयात भएका छन् । नेपाली सडकमा देखिएको ‘ईभी क्रान्ति’ले विश्वभरको ध्यान पनि खिचेको छ । गत वर्ष विश्व प्रतिष्ठित ‘द न्यु योर्क टाइम्स’ले नेपालमा बिक्री भएकामध्ये ७६ प्रतिशत कार ईभी रहेको भन्दै विशेष फिचर नै प्रकाशन गरेको थियो । जसमा नेपालीले खरिद गरेको ईभी गाडीको आँकडा नर्वे, सिंगापुर र इथियोपियापछिकै उच्च रहेको उल्लेख थियो ।

नेपालमा बढिरहेको ईभीको उपयोग केवल विश्वव्यापी विद्युतीय सवारी प्रयोगको प्रभाव मात्रै होइन । यसमा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका सवारी उत्पादक र तिनका नेपालस्थित आधिकारिक आयातकर्ता कम्पनीहरूको दीर्घकालीन लगानी, बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधारमा उनीहरुले नै गरिरहेको लगानी तथा ग्राहकको विश्वास अभिवृद्धिमा खर्चिएको समयको महत्वपूर्ण योगदान छ ।

आज नेपालमा बिवाईडी, हुन्डाई, एमजी, टाटा, ओमोडा–जेईको, जिली लगायतका ब्राण्डको उपस्थिति मजबुत बनिरहेको छ । यसले नेपाली उपभोक्तालाई बढी भन्दा बढी विकल्प, गुणस्तरीय सेवा र प्रतिस्पर्धी मूल्य दिएको छ ।

नीतिगत सहजीकरणले खोलेको बाटो

नेपाल सरकारले २०७२/०७३ बाट वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति स्पष्ट रूपमा अघि सारेको हो । उक्त आर्थिक वर्षको बजेटमार्फत विष्णु पौडेलले विद्युतीय सवारीमा पेट्रोल–डिजेल गाडीको तुलनामा कम कर लगाए ।

त्यसपछि २०७३/०७४ मा कृष्णबहादुर महरा, २०७४/०७५ मा ज्ञानेन्द्रबहादुर कार्की र २०७५/०७६ डा. युवराज खतिवडाले कर संरचना करिब करिब यथावत राखे । यसबाट निरन्तर ४ वर्षसम्म करिब एउटै कर संरचना देखेपछि ईभी प्रवद्र्धनमा सरकारको स्पष्ट प्रतिवद्धता देखियो भन्दै व्यवसायीहरु हौसिए ।

डा. खतिवडाले २०७६/०७७ मा ईभीमा ठूलो कर सहुलियत दिँदै निजी ईभीमा १० प्रशित भन्सार, अन्तःशुल्क शून्य र भ्याट मात्र कायम गरिदिए । सार्वजनिक ईभीमा १ प्रतिशत भन्सार मात्रै लगाए । यसबाट व्यवसायीहरु निकै खुशी पनि भए । तर, लगत्तै अर्को वर्ष २०७७/०७८ मा उनले ईभीको कर बढाइदिए । आफ्नै नीति उल्ट्याएर उनले ईभीमा ८० प्रतिशतसम्म अन्तःशुल्क लगाइदिए । यो नीतिले ईभी बजारमा ठूलो झट्का दियो ।

त्यसपछि २०७८/०७९ विष्णु पौडेलले भन्सार र अन्तःशुल्क घटाए । २०७९/०८० मा जनार्दन शर्माले पनि ईभीको कर संरचनामा ठूलो फेरबदल गरेनन् । २०८०/०८१ मा डा. प्रकाशशरण महतले मोटर क्षमतामा आधारित कर संरचना कायम गरे । २०८१/०८२ मा वर्षमान पुनले मोटर क्षमता अनुसार ५ देखि २० प्रतिशतसम्म अन्तःशुल्क लगाए । कुनै श्रेणीमा कर पनि बढाए ।

२०८२/०८३ को बजेटमार्फत विष्णु पौडेलले मोटर क्षमतामा आधारित कर प्रणालीलाई निरन्तरता दिए । अहिले २०८३/०८४ को बजेटबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ईभीको कर प्रणालीलाई संरचनात्मक पुनर्गठन गर्दै मोटर क्षमतामा आधारित कर प्रणालीलाई मूल्यमा आधारित बनाए । यस अन्तर्गत सबै ईभीमा २० प्रतिशत समान भन्सार र अन्तःशुल्क हटाएर ‘क्लिन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट फी’ (स्वच्छ पूर्वाधार लगानी शुल्क) भनेर २.५ प्रतिशतदेखि १३० प्रतिशतसम्म नयाँ कर लाग्ने प्रबन्ध गरिएको छ ।

यसरी सुरुमा करबाटै प्रवद्र्धनको नीति लिइएको ईभीमा यस अवधिमा दर र संरचना नै फेरबदल भएपनि सरकारले ईभीलाई अहिलेसम्म प्रोत्साहन नै गर्दै आएको देखिन्छ । पेट्रोलियम पदार्थको आयात घटाउने, विदेशी मुद्रा बचत गर्ने, वातावरणीय प्रदूषण कम गर्ने तथा स्वदेशमै उत्पादन हुने विद्युतको उपयोग बढाउने उद्देश्यले ईभीलाई नीतिगत रुपमै प्रोत्साहन गरिँदै आइएको छ । यद्यपी, उच्च मूल्यका ब्राण्डको हकमा भने मूल्य अस्वभाविक बढ्ने गरी कायम गरिएका करका दरहरुप्रति प्रश्न उठिरहेको छ ।

बिवाईडी : बजार विस्तारको अग्रणी शक्ति

नेपालमा विद्युतीय सवारी ब्राण्डमध्ये सबैभन्दा धेरै चर्चा पाएको ब्राण्डमध्ये बिवाईडी अग्रस्थानमा पर्छ । यसको आधिकारिक वितरक साइमेक्स इंकले ईभीको ‘मास सेलिङ’ बढाउन सबैभन्दा ठूलो योगदान गरेको छ ।

यति मात्रै होइन, साइमेक्सले नेपाली बजारमा केवल बिवाईडीका गाडी मात्रै बेचेने, ईभीप्रतिको धारणा नै परिवर्तन गर्‍यो । लामो रेन्ज, आधुनिक ब्याट्री प्याक, सेक्युरिटीका आधुनिक फिचर्सहरुसहित आकर्षक डिजाइनका कारण नेपालमा बिवाईडीले ग्राहकको ठूलो समूह निर्माण गर्‍यो । यसका सबैजसो मोडल नेपालमा लोकप्रीय बनिरहेका छन् ।

यस्तै, साइमेक्सले देशभर आधुनिक शोरुम, सेवा केन्द्र र स्पेयर पाट्र्सको उपलब्धता विस्तार गर्दै ‘बिक्री पछिको सेवा’मा पनि अग्रणी रहेको प्रमाणित गरेको छ ।

एमजी : सुरुवातमै जोखिम मोलेको ब्राण्ड

नेपालमा निजी प्रयोगका ईभीलाई आम उपभोक्तामाझ परिचित गराउने प्रारम्भिक ब्राण्डडमध्ये एमजी पनि एक हो ।

यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सुरुमा ईभी सार्वजनिक गर्दा धेरैले यसको व्यवसायिक सफलतामाथि प्रश्न उठाएका थिए । तर पारामाउण्टले प्रश्नलाई चिर्दै ईभीप्रति विश्वास जगाउने काम गर्‍यो । एमजी जेड एस ईभीले नेपाली सडक, यहाँको पहाडी भुगोल र लामो दूरीको परीक्षण सफलतापूर्वक पार गरेपछि नेपाली बजारमा ईभीप्रति उपभोक्ताको विश्वास बढ्न थालेको हो ।

टाटा मोटर्स : परम्परागत ब्राण्डको नयाँ रूप

नेपालमा लामो इतिहास बोकेको टाटा मोटर्सले पनि विद्युतीय सवारीमा उल्लेखनीय योगदान गरेको छ । आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्नो पुरानो ‘कस्टुमर ग्रुप’लाई ईभीतर्फ आकर्षित गर्दै बजार विस्तार गरिरहेको छ ।

देशभर फैलिएको सेवा सञ्जाल र लामो समयदेखि कमर्सियल र यात्रुवाहक सवारीमा काम गरिरहेको अनुभव र त्यसको सञ्जालले गर्दा टाटालाई ईभीप्रति विश्वास जगाउन मद्दत पुग्यो ।

हुन्डाई : विश्वसनीयतासँगै प्रिमियम अनुभव

हुन्डाई पनि नेपालमा ईभी बजारको महत्वपूर्ण ब्राण्ड हो । यसको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक–५ जस्तो प्रिमीयम मोडललाई समेत नेपाल ल्याएर मध्यम वर्गीय ग्राहक मात्रै नभई, ईभीका प्रिमीयम ब्राण्ड पनि नेपालमा बिक्री गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

आईस इन्जिनमा अधिक रुचाईएको क्रेटाको ईभी पनि आइसकेको छ । हुन्डाईले विश्वसनीयता, सुरक्षा तथा अन्तर्राष्ट्रिय प्रविधिलाई मुख्य आधार बनाउँदै नेपाली ग्राहक आकर्षित गरेको छ ।

नेपालमै आईस गाडी एसेम्बल समेत गरिरहेको लक्ष्मीले सरकारी प्रोत्साहन पाए ईभी पनि एसेम्बल गर्न सकिने बताउँदै आएको छ ।

नयाँ ब्राण्डहरूको आक्रामक प्रवेश

पछिल्ला वर्षहरुमा नेपाली बजारमा चिनियाँ तथा विश्वका अन्य नयाँ ईभी ब्राण्डको प्रवेश उल्लेखनीय रूपमा बढेको छ । दीपल, नामी, जिली, लिपमोटर, ओमोडा एण्ड जेईको लगायतका ब्राण्डहरु नयाँ नयाँ विशेषता र प्रविधिसहित नेपाली बजारमा भित्रिएका छन् ।

यसबाट बजारमा प्रतिस्पर्धा बढेको छ । यस्तो प्रतिस्पर्धाबाट ग्राहकले मूल्य, रेन्ज, फिचर्स, प्रविधि तथा डिजाइनका आधारमा धेरै ‘अप्सन’ पाएका छन् ।

चार्जिङ पूर्वाधारमा पनि निजी क्षेत्रको ठूलो लगानी

ईभी बिक्री बढ्नुमा चार्जिङ स्टेशन विस्तार पनि उत्तिकै महत्वपूर्ण कारण हो । नेपाल विद्युत प्राधिकरणका अलावामा सवारी आयातकर्ता कम्पनीहरूले आफ्नै शोरुम तथा सेवा केन्द्रमा पनि चार्जिङ स्टेशन बनाएका छन् ।

यति मात्रै होइन, धेरै कम्पनीले होटल, रेष्टुरेन्ट, रिसोर्ट, पेट्रोलपम्प तथा प्रमुख राजमार्गका विभिन्न स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गरेका छन् । चार्जिङ पूर्वाधारको तीव्र विस्तारले ‘चार्ज सकिन्छ कि !’ भने उपभोक्ताको मनोवैज्ञानिक डरलाई घटाएको छ ।

बिक्रीपछिको सेवामा प्रतिस्पर्धा

ईभी बजार क्रमशः विस्तार हुँदै र परिपक्व बन्दै जाँदा कम्पनीहरूबीच बिक्रीमा मात्रै नभई, बिक्रीपछिको सेवामा पनि प्रतिस्पर्धा बढेको छ । अहिले अधिकांश आयातकर्ताले लामो अवधिको ब्याट्री वारेन्टी, रोडसाइड असिस्टेन्स, मोबाइल सर्भिस, प्राविधिक जनशक्ति उत्पादन, सफ्टवेयर अपडेट र स्पेयर पाट्र्सको सहज उपलब्धतामा ध्यान दिइरहेका छन् ।

कम्पनीहरुले यी सुविधा विस्तार गरिरहँदा ग्राहकको ईभी प्रतिको विश्वास झन बढ्दो छ ।

उपभोक्ताको सोचमा आएको परिवर्तन

पहिले ईभी भन्नासाथ आम धारणा नै कमजोर पावर, सीमित रेन्ज र चार्जिङ समस्या भन्ने थियो । तर, अहिले ४०० देखि ६०० किलोमिटरसम्म रेन्ज दिने गाडी बजारमा उपलब्ध छन् । टर्क उच्च हुने भएकाले पहाडी सडकमा समेत ईभी सहज रूपमा चल्न थालेका छन् ।

सञ्चालन खर्च पेट्रोल तथा डिजेल गाडीको तुलनामा निकै कम भएकाले पनि उपभोक्ताको आकर्षण तीव्र रूपमा बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको साथ

नेपालका वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले पनि ईभी खरिदका लागि आकर्षक कर्जा योजना ल्याएका छन् । सहज किस्ता, प्रतिस्पर्धी ब्याजदर तथा छिटो लोन स्वीकृति प्रक्रियाले धेरै ग्राहकलाई ईभी खरिद गर्न प्रोत्साहित गरेको छ ।

ईभी बजारको विस्तारले गति लिनुमा बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङ सहायताले पनि योगदान गरेको व्यवसायीहरु नै बताउँछन् ।

अझै बाँकी छन् चुनौती

निजी क्षेत्रको नेतृत्वमा अघि बढेको ‘हरित यातायात’को संस्कृतिले आज केवल सडकमा विद्युतीय सवारीको संख्या मात्र बढाएको छैन, यात्राको संस्कृति, उपभोक्ताको सोच, ऊर्जा उपयोगको ढाँचा र अटोमोबाइल बजारको दिशा नै परिवर्तन गरेको छ ।

नेपालले कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । विद्युतीय सवारी विस्तारले पेट्रोलियम आयात घटाउने, वायु प्रदूषण कम गर्ने, हरित ऊर्जाको उपयोग बढाउने र जलविद्युतको आन्तरिक खपत बढाउने अपेक्षा गरिन्छ । खासगरी, वायु प्रदूषण न्यूनीकरणमा ईभीको दीर्घकालीन योगदान महत्वपूर्ण मानिन्छ ।

ईभी बजार तीव्र गतिमा विस्तार भइरहेपनि केही चुनौती भने अझै बाँकी छन् । दूरदराजमा चार्जिङ पूर्वाधार अझै पर्याप्त छैनन् भने प्राविधिक जनशक्ति विस्तारमा निजी क्षेत्र (आयाकर्ता कम्पनी) एक्लै देखिएका छन् । सरकारले सिटीईभीटी जस्ता संस्थालाई यस क्षेत्रको प्राविधिक जनशक्ति तयार पार्ने काममा नतिजा देखिने गरी निर्देशन दिन सकेको पाइँदैन ।

यस्तै, ब्याट्री रिसाइक्लिङ तथा पुराना ब्याट्री व्यवस्थापनको स्पष्ट प्रणाली अझै विकास भइसकेको छैन । साथै, कर नीतिमा हुने बारम्बारको परिवर्तनले बजारमा अनिश्चितता सिर्जना गर्ने जोखिम पनि कायमै छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...
spot_img