Thursday, July 9, 2026
spot_img

सुरक्षामा चुनौति बनिरहेको सिनामंगलको हवाई इन्धन डिपो सार्न आलटाल: तारान्तार पत्र, आएन जवाफ

spot_img

नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण प्रक्रिया अन्योलमा परेको छ । आयल निगमले आफूहरुले ताकेता गर्दा पनि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले तदारुकता नदेखाउँदा डिपो स्थानान्तरण प्रोजेक्ट ‘स्टप’ हुने अवस्था आएको जनाएको छ । पटक पटक ताकेता गर्दा पनि कुनै उपलब्धि हासिल नभएपछि निगमले असार १५ गते पत्रकार सम्मेलन नै गरेर क्यानका कारण परियोजना अघि बढ्न नसकेको दाबी गरेको छ ।

‘विगतमा हामीसँग ताकेता गरिन्थ्यो तर, हामीले प्रक्रिया सुरु गरेर आफ्नो तर्फको काम अघि बढाएपछि क्यानले कुनै तदारुकता देखाएको छैन’ हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदिप कुमार यादवले बिजनेश पानासँग भने, ‘पटक पटक ताकेता गर्दा पनि कुनै जवाफ आउँदैन । कयौँपटक पत्र पठाइएको छ, सयौँ पटक फोन गरिएको छ । तर, कुनै ठोस काम निस्किएन ।’

निगमले कहिलेबाट सुरु गर्‍यो काम ?

२०८१ साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना पश्चात सिनामंगलस्थित आयल निगमको हवाई इन्धन डीपो स्थानान्तरण गर्नुपर्ने विषय सर्वसाधारण तहबाटै उठेको थियो । लगत्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले साउन तेस्रो साता उक्त हवाई इन्धन डीपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।

त्यसपछि २०८१ भदौ २८ मा मन्त्रिपरिषद बैठकले सिनामंगल डिपो स्थानान्तरण गर्न स्वीकृति दियो । लगत्तै, आयल निगमले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन मंसिर ५ गते पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गर्‍यो । पुल्चोक कलेजले २०८२ असार २७ गते निगमलाई डीपीआर बुझाउँदैछ ।

‘पल्चोक कलेजले डीपीआरको प्रारुप दिइसकेको छ, अन्तिम प्रतिवेदन पनि असार २७ गते हस्तान्तरण गर्दैछ, यस हिसाबमा हामी साउनबाटै टेण्डर आह्वान गरेर काम सुरु गर्न सक्ने अवस्थामा छौँ’ यादवले भने, ‘निगमले मंसिरमा डीपीआर बनाउने जिम्मा दिइसकेपछि क्यानले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिदिएको भए साउनमै ठेक्का लगाउन सकिन्थ्यो । तर, क्यानले यो ८ महिनामा कुनै काम गरिदिएन ।’

‘निगमले पठाएका पत्रको कुनै जवाफ आएन’

निगमले पुल्चोक इन्जिनियरिङ कलेजलाई डीपीआर बनाउने जिम्मा दिएपछि २०८१ मंसिर २७ गते क्यानलाई पत्राचार गर्दै डिपो ‘रि–लोकेशन’ गर्न निगमका लागि छुट्याइएको जमिनमा रुख कटान गरिदिन र त्यहाँ भएका नेपाली सेनाका भवन हटाइदिन अनुरोध गर्‍यो । यादव आफैँले हस्ताक्षर गरेर क्यानको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनालाई यो पत्र पठाएका थिए । तर, क्यानले यसको कुनै जवाफ नदिएको यादवको आरोप छ ।

निगमले २०८१ मंसिर २७ गते क्यानलाई लेखेको पत्र

यसपछि २०८१ पौष १२ मा फेरि निगमले पत्र पठायो । उक्त पत्रमा ‘ल्याण्ड एग्रिमेन्ट’ गरिदिन निगमले क्यान समक्ष अनुरोध गरेको थियो । ‘उपरोक्त सम्बन्धमा निगमको लागि छुटयाएको जग्गा एग्रिमेन्टको लागि पटक पटक लिखित रुपमा ताकेता गरेपनि हालसम्म जग्गाको एग्रिमेन्ट नभएको तथा हवाई इन्धन डिपो सिनामंगलको रि–लोकेशन सम्बन्धि कार्यको डीपीआर तयार गर्नको लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग २०८१ मंसिर ५ गते सम्झौता भई उक्त ल्याण्डमा सोयल टेस्टको कार्यसमेत सुरु भइसकेकोले बाँकी कार्यहरु द्रूत गतिमा अगाडी बढाउन ल्याण्ड एग्रिमेन्ट यथाशीघ्र गरिदिनुहुन अनुरोध छ’ निगमले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।

निगमले पौष १२ गते क्यानलाई लेखेको पत्र

तर यो पत्रको पनि कुनै जवाफ नआएको निगमको भनाइ छ ।

यसपछि २०८१ माघ ९ गते फेरि निगमले सिनामंगल डिपो स्थानान्तरण गर्न छुट्याइएको जग्गासम्म पुग्ने बाटो बनाइदिन अनुरोध गर्दै अर्को पत्र लेख्यो । उक्त पत्रमा निगमले क्यानलाई ट्याङ्कर अपलोडिङ एरियामा जाने बाटो एवम् लोडिङ एरियामा जाने बाटो बनाइदिन भनेको थियो । तर, यस पत्रको पनि जवाफ नआएको निगमको दाबी छ ।

निगमले माघ ९ गते क्यानलाई लेखेको पत्र

यस्ता पत्राचारको श्रृङ्खला निकै चलेको निगमको भनाइ छ । तर, क्यानबाट कुनै जवाफ नआएको र भेट गरेरै क्यानका अधिकारीहरु समक्ष कुरा गर्दा ‘विस्तारै गरौँला नि’ भन्ने आशयको जवाफ पाउने गरेको निगमको सिनामंगल डिपो प्रमुख प्रदिप यादवको भनाइ छ ।

‘जग्गाको चार किल्ला तोकिदिएन, ल्याण्ड एग्रिमेन्ट पनि गरिदिएन, डिपो राख्ने भनिएको ठाउँमा आर्मीका केही घरहरु छन्, तिनलाई पनि क्यानले नै हटाउनुपर्नेमा हटाइदिएन’ यादवले भने, ‘१५० वटा जति रुखहरु छन्, २०७७ सालमै मन्त्रिपरिषदले ति रुख कटानको स्वीकृति दिइसकेको छ । तर, क्यानले अहिलेसम्म रुख कटान पनि गरिदिएको छैन ।’

तर, यस विषयमा क्यानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । क्यानका प्रवक्ता हंशराज पाण्डे र सूचना अधिकारी ज्ञानेन्द्र भुलसँग यस सम्बन्धमा जिज्ञासा राख्न सम्पर्क गर्न खोज्दा उनीहरु दूबैसँग सम्पर्क भएन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img