भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन छोडेपछि त्यस क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै प्रदर्शन गरेका छन् ।
बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा व्यवसायीहरुले विमानस्थलको मुख्य गेटमा भेला भएर एक घण्टा धर्ना दिएका हुन् ।
व्यवसायीहरुले भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु नगरे आन्तरिक उडान बन्द गराउने, मन्त्री तथा सम्बन्धित अधिकारीहरुलाई भैरहवामा बहिष्कार गर्ने र संघीय पर्यटन मन्त्रालय घेराउसम्मको सम्मको चेतावनी दिएका छन् । नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले आफूहरु निर्णायक आन्दोलन गर्न तयार रहेको भन्दै तत्काल माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।
विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरू चिन्तित बनेका छन् ।
गत वर्ष कात्तिकमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले भैरहवाबाट केही समय उडान गरेका थिए । तर, त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट उडान बन्द भएको छ ।
३५ अर्ब ६६ करोड लागतमा निर्माण भएको विमानस्थललाई हेरेर सो क्षेत्रमा व्यवसायीहरुले एक खर्ब रुपैयाँको लगानी गरेका छन् । भैरहवा र आसपासमा मात्रै व्यवसायीहरुले पर्यटन पूर्वाधारमा ऋण लिएर लगानी विस्तार गरेपनि एयरपोर्ट नचल्दा उनीहरु आजित भएका छन् ।