नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको चौथो साधारणसभा सहितको अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि जामको उपाध्यक्ष रहेका थिए ।
यसैगरी उपाध्यक्षमा तोयानाथ पौडेल चयन भएका छन् । उनी यसअघिको कार्यसमितिको महासचिव थिए ।
महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसअघि उनी सचिवको जिम्मेवारीमा थिए । सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन् ।
नयाँ कार्यसमिति सदस्यहरुमा सौरभ नेपाल, अमृत चिमरिया र कमला भण्डारी सर्वसम्मत चयन भएका छन् ।
संघको संशोधित विधानअनुसार ११ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था बमोजिम दुईजना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ । निर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।
निवर्तमान अध्यक्ष सागर गजुरेलले नवनिर्मित कार्यसमितिलाई बधाईसहित नेतृत्व हस्तान्तरण गर्दै संघको प्रगति र आवद्ध सदस्यहरुको हक हित र क्षमता विकास गर्ने कार्यमा नयाँ नेतृत्वले अझ सशक्त ढंगले काम गर्ने विश्वास व्यक्त गरे । उनले आफू सबै खाले सहयोग गर्न सधैँ तयार रहेको बताएका छन् ।
पूर्वअध्यक्ष उज्ज्वल जंग शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै अटोमोबाइ क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता विकासमा संघले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्दै आफूले सधैँ सहयोग र साथ दिने प्रतिवद्धता जनाएका छन् ।













