नेपाल विद्युतीय सवारी साधन खपत गर्ने शीर्ष मुलकमध्येमा पर्छ । पछिल्ला तथ्यांकहरुले कुल सवारी आयातमा ईभीको हिस्सा ७५ प्रतिशतमाथि देखाएका छन् । तर, ईभीका उपभोक्ताहरु गाडीका पार्टस् सहजै नपाउँदा हैरान हुन थालेका छन् ।
टोखा घर भएका एक जना सेवाग्राहीले २ महिनासम्म स्पेयर पार्टस् नपाउँदा गाडी मर्मत हुन नसकेको र आफू दैनिक पठाओ वा ट्याक्सी चढेर यात्रा गर्नु परिरहेको गुनासो गरेका छन् । ति उपभोक्ताले भदौको सुरुमै बम्पर फेर्नका लागि गाडीलाई सर्भिस सेन्टरमा छोडेका थिए । तर, दशैँसम्म सामान नै आएन । दशैँ नसकिँदै बाढी पहिरोले सडक अवरुद्द भएपछि चीनबाट सामान बोकेका गाडी नेपाल आउन सकेनन् । जसका कारण कम्पनीले समयमै पार्टस् ल्याउन नसक्दा गाडी मर्मत हुन सकेन ।
‘अहिले पनि चीनबाट सामान आउन सकेको छैन’
नेपालका ईभी बिक्रेताले ईभीका पार्टस् थोरै मात्रै स्टकमा राख्छन् । धेरै सामान राख्दा त्यो तत्कालै बिक्री नहुँदा ‘क्यास होल्ड’ हुने भएकाले गाडी मर्मतका लागि सर्भिस सेन्टरमा आएपछि मात्रै कम्पनीहरुले आवश्यक पार्टस् बल्ल अर्डर गरेर मगाउने गरेका छन् ।
‘एउटा एउटा पार्टस् ल्याउन सम्भव हुँदैन, १/२ कन्टेनर भरिने गरी सामान अर्डर भएपछि मात्रै बल्ल उताबाट डिपार्चर हुन्छ’ नेपालमा धेरै बिक्री हुने मध्येको एक ईभी ब्राण्ड आयात गर्ने कम्पनीका अधिकारी भन्छन्, ‘भदौमा अर्डर गरेको सामान उता (चीन)बाट हिडेको खबर आएपनि अहिले स्थलमार्ग सहज छैन । कहिले आइपुग्छ भन्ने टुंगो छैन ।’
रसुवागढी नाका अवरुद्द हुँदा लत्ताकपडा लगायतका सामान तातोपानी नाका हुँदै ल्याइएको भएपनि पार्टस् बोकेका गाडी घुमाउन सम्भव नहुने भएकाले समयमै सामान आउन नसकिरहेको उक्त कम्पनीका प्रतिनिधिहरुको भनाइ छ । कतिपय ठूला कम्पनीहरुले समुद्रको बाटो हुँदै ल्याउने प्रयास अघि बढाएका छन् ।
नयाँ गाडीबाट झिकेर टार्दै कम्पनीहरु
स्पेयर पार्टस् समयमै नआएपछि चल्तीका ब्राण्डले उपभोक्ताको विश्वास कायम राख्न नयाँ गाडीको पार्टस् झिकेर समेत जडान गरिदिने गरेका छन् । भर्खरै भित्रिएका ब्राण्डले भने सर्भिस सेन्टरमा महिनौ गाडी राखिदिने गरेका छन् ।
‘मर्मतका लागि आएका गाडीहरु पार्टस् अभावमा लामो समय सर्भिस सेन्टरमा राख्नु राम्रो हुँदैन भनेर हामीले नयाँ गाडीका पार्टस् झिकेर दिन थालेका छौँ’ एक कम्पनीका उच्च अधिकारीले भने, ‘अहिलेसम्म १५ वटा जति नयाँ गाडीका पार्टस् झिकेर दिइसक्यौँ । बरु गाडी बुकिङ गरेको व्यक्तिलाई १५ दिन ढिलो डेलिभरी दिने, तर मर्मतका लागि आएका गाडीलाई सामान अभाव हुन नदिनका लागि हामीले यो नीति लिएका हौँ ।’











