Tuesday, April 21, 2026
spot_img
spot_img

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

spot_img
spot_img

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा चित्रण गर्न थालिएको छ । ईभीको बढ्दो प्रयोगसँगै भइरहेका दुर्घटनालाई लिएर यसको सुरक्षा प्रणालीमाथि नै प्रश्न उठाउन पनि थालिएको छ । तर, हालसम्म भएका दुर्घटनाको कारण हेर्ने हो भने कमजोर सुरक्षा प्रणालीका कारण दुर्घटना भएको निष्कर्ष निस्किएको छैन ।

मकवानपुरः २ को मृत्यु, १४ घाइते

२०८२ वैशाख ५ गते काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस अनियन्त्रित भई दुर्घटना भयो । उक्त ईभी सडकबाट करिब २ सय मिटर तल खस्यो । घटनामा दुई जनाको मृत्यु भयो भने १४ जना यात्रु घाइते भए ।

ताप्लेजुङः बिजुली तार छोएर आगलागी, चारको मृत्यु

२०८२ जेठमा ताप्लेजुङको सेवारो चोकमा तीर्थयात्री बोकेको ईभी बोलेरो दुर्घटनामा पर्‍यो । सडकभन्दा माथि झुन्डिएको बिजुलीको तारमा ठोक्किँदा ईभीमा आगो लाग्यो । दुर्घटनामा चार जनाको ज्यान गयो र दुई जना घाइते भए ।

नुवाकोटः ९ घाइते

२०८२ जेठ ११ मा काठमाडौँ आउँदै गरेको निजी ईभी गाडी शिवपुरी गाउँपालिका–७ स्थित गुरुङगाउँ नजिक अनियन्त्रित भई झन्डै १० मिटर तल खसेको थियो । दुर्घटनामा ९ जना घाइते भए ।

सिन्धुलीः चालकको मृत्यु, पाँच घाइते

२०८१ माघ २५ मा झापाबाट काठमाडौँतर्फ आउँदै गरेको ईभी गाडी बीपी राजमार्ग अन्तर्गत स्न्धिुलीमा सडकबाट तल खसेको थियो । चालकको घटनास्थलमै मृत्यु भयो भने पाँच जना घाइते भए ।

रौतहटः ट्रकसँग ठोक्किँदा दुईको मृत्यु

२०८२ असार २१ मा रौतहटको चन्द्रनगर–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र इभी आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । अन्य केही यात्रु घाइते भए ।

दैलेखः चार विद्यार्थी घाइते

२०८१ चैत १२ मा दैलेखको मध्यपहाडी लोकमार्गअन्तर्गत गालुगाउँ नजिकै ईभी गाडी दुर्घटना हुँदा चार विद्यार्थी घाइते भए । गाडी झन्डै ५० मिटर तल खसेको थियो ।

कारण के ?

यी केही प्रतिनिधिमूलक घटना हुन् । पछिल्ला यि सबै घटनाहरूको अध्ययन गर्दा एउटा कुरा स्पष्ट हुन्छः दुर्घटना सवारीको प्रविधिगत कमजोरी वा सुरक्षा उपकरण फेल भएर भएको छैन । दुर्घटनाको मूल कारण चालकको निर्णय, सडक अवस्थाले गर्दा भएको छ ।

ईभीको प्रविधि परम्परागत इन्धन सवारीभन्दा भिन्न हुन्छ । यस्ता गाडीहरूमा तुरुन्त गति दिने शक्ति (instant torque), regenerative braking र वजन वितरण फरक हुने हुँदा मोड, उकालो वा ओरालोमा चलाउँदा विशिष्ट अनुभव आवश्यक हुने जानकारहरु बताउँछन् । तर, अहिले ईभी हाँकिरहेका चालकहरुमा ईभी चलाउने पूर्णतः अनुभव नहुने भएकाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीकै पनि भनाइ रहँदै आएको छ ।

पूर्वाधारको कमजोरी

सडक सुरक्षासम्बन्धी पूर्वाधार पनि ईभी दुर्घटनामा एउटा प्रमुख पक्ष हो । धेरै ठाउँमा मोडमा चेतावनी चिह्न नहुनु, पर्याप्त स्पिड ब्रेकर नहुनु, बिजुलीको तारहरू जथाभावी झुण्डिनु र गाडी चार्ज गर्न पनि अनुकुलित उचित स्थान नहुनु जस्ता समस्याले पनि दुर्घटना निम्त्याउने गरेको विज्ञहरु बताउँछन् ।

पूर्वाधार तथा सवारी विज्ञ आशिष गजुरेलका अनुसार ईभीका चालकहरूका लागि फरक प्रशिक्षण प्रणाली लागू गरिनुपर्ने आवश्यकता बढिरहेको छ । यसैगरी, यातायात व्यवस्था विभाग जस्ता निकायले दुर्घटनाको तथ्यांक संकलन गरेर विश्लेषण गर्नुपर्ने पनि उनको सुझाव छ ।

यसैगरी, स्थानीय तह र विद्युत प्राधिकरणबीच सडकमा असरल्ल छोडिएका विद्युतका तारहरुको व्यवस्थापन हुनु पनि अति नै आवश्यक रहेको जानकारहरु बताउँछन् । करेन्ट प्रवाह भइरहेको बिजुलीको तार कथमकदाचित मानिस वा सवारी साधनमा ठोक्किए त्यसले दुर्घटना निम्त्याउने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने अगुवाहरुको भनाइ छ ।

विज्ञ गजुरेलका अनुसार मुख्य गरी सवारी अनुमतिपत्र वितरणमा ईभी सम्बन्धी अतिरिक्त परीक्षा अर्थात् रोड टेस्ट लिइनुपर्ने र केही दिनको कक्षा पश्चात मात्रै ईभी हाँक्न दिनु उचित हुन्छ । ‘प्रविधि दोषी छैन, आजसम्म भएका दुर्घटना हेर्दा ईभीको सुरक्षा उपकरणमा खराबी आएर भएको पनि देखिँदैन’ उनी भन्छन्, ‘समस्या मानवीय गल्ती, सवारी सचेतनाको कमी, र पूर्वाधारको कमजोरी नै हो ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...
spot_img