अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा चित्रण गर्न थालिएको छ । ईभीको बढ्दो प्रयोगसँगै भइरहेका दुर्घटनालाई लिएर यसको सुरक्षा प्रणालीमाथि नै प्रश्न उठाउन पनि थालिएको छ । तर, हालसम्म भएका दुर्घटनाको कारण हेर्ने हो भने कमजोर सुरक्षा प्रणालीका कारण दुर्घटना भएको निष्कर्ष निस्किएको छैन ।
मकवानपुरः २ को मृत्यु, १४ घाइते
२०८२ वैशाख ५ गते काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस अनियन्त्रित भई दुर्घटना भयो । उक्त ईभी सडकबाट करिब २ सय मिटर तल खस्यो । घटनामा दुई जनाको मृत्यु भयो भने १४ जना यात्रु घाइते भए ।
ताप्लेजुङः बिजुली तार छोएर आगलागी, चारको मृत्यु
२०८२ जेठमा ताप्लेजुङको सेवारो चोकमा तीर्थयात्री बोकेको ईभी बोलेरो दुर्घटनामा पर्यो । सडकभन्दा माथि झुन्डिएको बिजुलीको तारमा ठोक्किँदा ईभीमा आगो लाग्यो । दुर्घटनामा चार जनाको ज्यान गयो र दुई जना घाइते भए ।
नुवाकोटः ९ घाइते
२०८२ जेठ ११ मा काठमाडौँ आउँदै गरेको निजी ईभी गाडी शिवपुरी गाउँपालिका–७ स्थित गुरुङगाउँ नजिक अनियन्त्रित भई झन्डै १० मिटर तल खसेको थियो । दुर्घटनामा ९ जना घाइते भए ।
सिन्धुलीः चालकको मृत्यु, पाँच घाइते
२०८१ माघ २५ मा झापाबाट काठमाडौँतर्फ आउँदै गरेको ईभी गाडी बीपी राजमार्ग अन्तर्गत स्न्धिुलीमा सडकबाट तल खसेको थियो । चालकको घटनास्थलमै मृत्यु भयो भने पाँच जना घाइते भए ।
रौतहटः ट्रकसँग ठोक्किँदा दुईको मृत्यु
२०८२ असार २१ मा रौतहटको चन्द्रनगर–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र इभी आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । अन्य केही यात्रु घाइते भए ।
दैलेखः चार विद्यार्थी घाइते
२०८१ चैत १२ मा दैलेखको मध्यपहाडी लोकमार्गअन्तर्गत गालुगाउँ नजिकै ईभी गाडी दुर्घटना हुँदा चार विद्यार्थी घाइते भए । गाडी झन्डै ५० मिटर तल खसेको थियो ।
कारण के ?
यी केही प्रतिनिधिमूलक घटना हुन् । पछिल्ला यि सबै घटनाहरूको अध्ययन गर्दा एउटा कुरा स्पष्ट हुन्छः दुर्घटना सवारीको प्रविधिगत कमजोरी वा सुरक्षा उपकरण फेल भएर भएको छैन । दुर्घटनाको मूल कारण चालकको निर्णय, सडक अवस्थाले गर्दा भएको छ ।
ईभीको प्रविधि परम्परागत इन्धन सवारीभन्दा भिन्न हुन्छ । यस्ता गाडीहरूमा तुरुन्त गति दिने शक्ति (instant torque), regenerative braking र वजन वितरण फरक हुने हुँदा मोड, उकालो वा ओरालोमा चलाउँदा विशिष्ट अनुभव आवश्यक हुने जानकारहरु बताउँछन् । तर, अहिले ईभी हाँकिरहेका चालकहरुमा ईभी चलाउने पूर्णतः अनुभव नहुने भएकाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीकै पनि भनाइ रहँदै आएको छ ।
पूर्वाधारको कमजोरी
सडक सुरक्षासम्बन्धी पूर्वाधार पनि ईभी दुर्घटनामा एउटा प्रमुख पक्ष हो । धेरै ठाउँमा मोडमा चेतावनी चिह्न नहुनु, पर्याप्त स्पिड ब्रेकर नहुनु, बिजुलीको तारहरू जथाभावी झुण्डिनु र गाडी चार्ज गर्न पनि अनुकुलित उचित स्थान नहुनु जस्ता समस्याले पनि दुर्घटना निम्त्याउने गरेको विज्ञहरु बताउँछन् ।
पूर्वाधार तथा सवारी विज्ञ आशिष गजुरेलका अनुसार ईभीका चालकहरूका लागि फरक प्रशिक्षण प्रणाली लागू गरिनुपर्ने आवश्यकता बढिरहेको छ । यसैगरी, यातायात व्यवस्था विभाग जस्ता निकायले दुर्घटनाको तथ्यांक संकलन गरेर विश्लेषण गर्नुपर्ने पनि उनको सुझाव छ ।
यसैगरी, स्थानीय तह र विद्युत प्राधिकरणबीच सडकमा असरल्ल छोडिएका विद्युतका तारहरुको व्यवस्थापन हुनु पनि अति नै आवश्यक रहेको जानकारहरु बताउँछन् । करेन्ट प्रवाह भइरहेको बिजुलीको तार कथमकदाचित मानिस वा सवारी साधनमा ठोक्किए त्यसले दुर्घटना निम्त्याउने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने अगुवाहरुको भनाइ छ ।
विज्ञ गजुरेलका अनुसार मुख्य गरी सवारी अनुमतिपत्र वितरणमा ईभी सम्बन्धी अतिरिक्त परीक्षा अर्थात् रोड टेस्ट लिइनुपर्ने र केही दिनको कक्षा पश्चात मात्रै ईभी हाँक्न दिनु उचित हुन्छ । ‘प्रविधि दोषी छैन, आजसम्म भएका दुर्घटना हेर्दा ईभीको सुरक्षा उपकरणमा खराबी आएर भएको पनि देखिँदैन’ उनी भन्छन्, ‘समस्या मानवीय गल्ती, सवारी सचेतनाको कमी, र पूर्वाधारको कमजोरी नै हो ।’













