भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सारमा राखिएका सीजी मोटर्सले आयात गरेका सबैभन्दा बढी विद्युतीय गाडी बगाएको छ । असार २४ गते मंगलबार भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालयको यार्डमा राखिएका गाडीहरु बगाउँदा सबैभन्दा बढी सीजी मोटर्सले ल्याउने विद्युतीय माइक्रो बसहरु बगाएको भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईका अनुसार भोटेकोशीको बाढीले सीजीले नेपालमा आयात गर्ने केवाईसी ईभी माइक्रो सबैभन्दा बढी बगाएको छ । यकिन तथ्याङ्क आउन अझै समय लाग्ने भएपनि प्रारम्भिक विवरण अनुसार सीजीले ल्याएर राखेका ३५ देखि ४० युनिट ईभी माइक्रो बाढीले बगाएको उनको भनाइ छ ।
‘हामी तथ्याङ्क संकलनकै क्रममा छौँ, अहिलेसम्म प्राप्त विवरणहरुले सीजीले ल्याउने ईभी माइक्रोहरु धेरै ड्यामेज भएको देखिन्छ, ३५ देखि ४० युनिट ईभी त सीजीका मात्रै बगाएको छ’ रसुवागढी भन्सार कार्यालयका प्रमुख भट्टराईले बिजनेश पानासँग भने, ‘यी सबै जाँचपास भइसकेका गाडी हुन् । जाँचपास भएकामध्ये कति कम्पनीले लग्यो र कति भन्सार यार्डमै थिए भन्ने जानकारी चाहिँ कम्पनीसँग मागेका छौँ । सीजीले सर्भेयर पठाउँदैछ ।’
यस्तै, केही युनिट स्काईवेलका ईभी पनि बाढीले बगाएको छ । भन्सार कार्यालय प्रमुख भट्टराईका अनुसार साना गाडीतर्फ स्काईवेलका पनि आधा दर्जन युनिट जति ईभी गाडी बाढीमा परेका छन् ।
‘स्काईवेलका पनि गाडी बगाएको देखिएको छ, यसको ठ्याक्कै अंकमै विवरण चाहिँ छैन, तर ६/७ युनिट थिए भन्ने सुनिएको छ’ उनले भने, ‘अब कुन ब्राण्ड र कुन मोडलका कति युनिट गाडी बाढीमा परे भन्ने आधिकारिक तथ्याङ्क चाहिँ सम्बन्धित कम्पनीले नै दिनुपर्ने अवस्था छ । हामीले मागि पनि रहेका छौँ । छाता संस्थाका रुपमा नाडामार्फत नै दिए पनि हुन्छ भनेका छौँ ।’
भट्टराईका अनुसार बाढीमा परेका गाडीमध्ये अधिकांश भन्सार जाँचपास भइसकेका गाडी छन् । भन्सार जाँचपास हुन बाँकी रहेका केही गाडी र अन्य सामान पनि बाढीले बगाएको छ । बाढीमा परेका ठूला गाडीतर्फ २४ वटा कन्टेनर र ६ वटा नयाँ ट्रक रहेका छन् ।
‘२४ वटा कन्टेनर लोडेड हुन्, ६ वटा ट्रक चाहिँ चिनियाँ सिनो कम्पनीका हुन्’ भट्टराईले थपे । रसुवा भन्सारमा निर्माणाधीन ड्राइपोर्ट पनि बाढीले बगाएको छ ।
‘रातारात गाडी सार्यौँ’
रसुवागढी नाका भएर नेपाल भित्रिने सामान बोकेका कन्टेनर तथा जाँचपास गर्न तयार पारिएका गाडीहरु नदी किनार नजिकैसम्म राखिन्छन् । त्यहाँ ड्राइपोर्ट पनि बन्दै छ । २४ गते राती बाढी आएको सूचना चिनियाँ पक्षले नेपाल पक्षलाई पनि जानकारी गराएको थियो ।
नेपाल पक्षले खासगरी, रसुवागढी भन्सार कार्यालयले सतर्कता अपनाउन खोज्दा खोज्दै पनि ठूलो क्षति हुन पुग्यो । बाढीको सूचना पाउनासाथ राती नै धेरै गाडीहरु सुरक्षित स्थानमा सारिएको भन्सार कार्यालयले जनाएको छ । अहिले बाढीमा बगेका र डुबानमा परेका गाडी सार्न खोज्दा खोज्दै पनि सक्ने स्थिति नभएपछि छोड्न बाध्य हुनु परेको भन्सार कार्यालय बताउँछ ।
‘राती नै धेरै गाडी सारियो, सबैलाई सुरक्षित स्थानमा लैजाने प्रयास भएपछि सम्भव भएन’ भन्सार कार्यालयका प्रतिनिधिले भने, ‘हामीले प्रयास गरेकै कारण धेरै गाडी सुरक्षित स्थानमा पुर्याउन सफल भयौँ ।’
बीमा दाबीको प्रक्रिया के हुन्छ ?
क्षति बापतको बीमा दाबीका लागि अब आयातकर्ता कम्पनीहरुले सम्बन्धित बीमा कम्पनीमा दाबी पेश गर्ने छन् । प्रतित पत्र (एलसी) खोल्दा नै इन्स्योरेन्सबारे स्पष्ट रुपमा उल्लेख भएको हुने र त्यसमा कम्पनीहरुले कहाँ सम्मको क्षति ‘कभर’ गर्ने भनेर उल्लेख गरेको हुने प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य बताउँछन् ।
‘एलसी खोल्दा नै कहाँ सम्मको बीमा कभर गर्ने भन्ने हुन्छ, कुनै कुनै चाहिँ पोर्टसम्म भनेर खुलाइएको हुन्छ, कुनै चाहिँ शोरुमसम्मै पुग्दा सम्मको कभर गर्ने भन्ने हुन्छ’ उनले भने, ‘अब आयात गर्ने कम्पनीहरुले कहाँ सम्मको बीमा गराएका छन्, त्यो चाहिँ उनीहरुले नै भन्ने कुरा भयो ।’













