नेपाल डेरी एशोसियसनले कुनै पनि हालतमा दुध तथा दुग्ध पदार्थको आयात नखोल्न सरकारको ध्यानकर्षण गराएको छ। एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले दुध तथा दुग्धजन्य पदार्थ तत्कालका लागि पूर्ण रुपमा आयात बन्द गरि नेपाली दुग्ध किसान र डेरी उद्योगलाई बचाउन आग्रह गरेका हुन्।
अध्यक्ष दाहालका अनुसार हाल सरकारले आयत बन्द गरेता पनि आयातको सरकारी तथ्यांक हेर्दा साउन महिनामा मात्र बटर ४८ हजार केजी, चिज ८ हजार ५० केजी, अन्य डेरी जन्य पदार्थ १२ हजार ६ सय केजी आयात भएको तथ्यांकले देखाएको छ । त्यस कारण नेपाल सरकारले नेपालमा ५० अर्ब निजी लगानी भएको डेरी उद्योग, ६ लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएको क्षेत्र, करिब ५० हजार उद्योग क्षेत्रमा रोजगारी प्राप्त गरेको क्षेत्रको हित र संरक्षण गर्नका लागि देशमा दुध तथा दुग्ध पदार्थको बजार सहज नहुन्जेल र स्टक नसकिन्जेलसम्म कुनै पनि बहानामा आयात खुला नगर्न उनले आग्रह गरेका छन् ।
दुध तथा दुग्ध पदार्थको आयात खुल्ला गरिए नेपाली डेरी उद्योग र दुग्ध किसान यो पेसाबाट पलायन हुने छन् । उनले यसतर्फ उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
यस्तो छ संघको विज्ञप्ति :
विगत लामो समयदेखि विभिन्न किसिमका समस्याका बावजुद पनि डेरी सेक्टर सबैको सहयोगमा हालसम्म जेनतेन टिकेको अबस्था छ । २०७२ सालको भूकम्प, २०७५ / ७६ को कोभिड, २०७९ / ८० को लम्की स्किन डिजिज, लामो समयसम्मको आर्थिक मन्दिर, हालसालै २०८१ को बाढी पहिरो लगायतका धेरै समस्या एकै पटक डेरी सेक्टरमा आएका कारण हाल डेरी क्षेत्र थलिएको अवस्था छ। यस्तो अवस्थामा दूध तथा दुध जन्य पदार्थको खपत कम हुनु स्वभाविक नै हो । स्टक बढी भएर डेरी उद्योगको चालु पुँजी सकिन पुग्दा समयमा किसानको भुक्तानी गर्न नसकेर किसान र उद्योगले ठूलो समस्या भोग्नु परेको अवस्था छ ।
नेपालमा विभिन्न देशबाट विभिन्न दुग्ध पदार्थ आयत हुने गरेको तथ्य हामी सबैलाई अबगत नै छ । स्वदेशी उत्पादन खपत नहुने र आयतित दुग्ध पदार्थले बजार ओगटेका कारण सो कुरालाई मध्यनजर गरी सरकारले स्वदेशी उद्योग र किसानको हितका लागि कृषि तथा पशुपन्छी मन्त्रालयबाट २०८० फागुन ३ गतेदेखि सहज परिस्थिति नहुने समयसम्मका लागि दुध तथा दुग्ध पदार्थ आयात बन्द गरेको थियो। तर हाल आएर विभिन्न बहानाबाजी गरी यहाँ दुध तथा दुग्ध पदार्थ आयात बन्द हुँदा नेपालबाट भारत निर्यात हुँदै आएका विभिन्न स्वदेशी नेपाल उत्पादित वस्तुहरू निर्यातका लागि भारतले अप्ठ्यारो पारेको र दुध तथा दुधजन्य पदार्थ आयातमा लगाइएको रोक तत्काल फिर्ता हुने कुरा विभिन्न समाचार माध्यममा प्रकाशित भएको खबरले हाल पनि अर्बौको बटर, धुलो दुध, चिज आदि थन्किएर बसेको अवस्थामा दुधसँग सरोकार राख्ने सबै दुग्ध क्षेत्रका सरोकारवालाहरु अत्यन्तै मर्माहत भएको अवस्था छ।
हाल सरकारले आयत बन्द गरेता पनि आयातको सरकारी तथ्यांक हेर्दा साउन महिनामा मात्र बटर ४८ हजार केजी, चिज ८ हजार ५० केजी, अन्य डेरी जन्य पदार्थ १२ हजार ६ सय केजी आयात भएको तथ्यांकले देखाउँछ । त्यस कारण नेपाल सरकारले नेपालमा ५० अर्ब निजी लगानी भएको डेरी उद्योग, ६ लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएको क्षेत्र, करिब ५० हजार उद्योग क्षेत्रमा रोजगारी प्राप्त गरेको क्षेत्रको हित र संरक्षण गर्नका लागि देशमा दुध तथा दुग्ध पदार्थको बजार सहज नहुन्जेल र स्टक नसकिन्जेलसम्म कुनै पनि बहानामा आयत खुल्ला गर्नु भनेको नेपाली डेरी उद्योग र दुग्ध किसानलाई यो पेसाबाट पलायन गराउनु हो । त्यस अर्थमा आशा छ उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यो कुरालाई विशेष महत्व दिई दुध तथा दुग्ध जन्य पदार्थ तत्कालका लागि पूर्ण रुपमा आयात बन्द गरि नेपाली दुग्ध किसान र डेरी उद्योगलाई बचाउन विनम्र अनुरोध गर्दछ ।









