नेपाली कृषि उत्पादन अब थाइल्याण्ड पुग्ने भएका छन् । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको राजधानी बैङ्ककस्थित बिजम्याच सोलुसन बिच यस सम्बन्धि सम्झौता भएसँगै नेपाली उत्पादन थाइ बजारमा पुग्ने भएका हुन् ।
नेपालमा उत्पादन गरिएका वस्तुहरुलाई थाईल्याण्डमा प्रमोट गर्ने उदेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको जनता एग्रोले जनाएको छ ।
सम्झौतामा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा तथा जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निशा देवकोटाले हस्ताक्षर गरेका हुन् ।
उक्त संस्थासँग सहकार्य गरी बैङ्कक बजारमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” भनेर बजारीकरण गर्ने योजना रहेको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य समेत जनता एग्रो एण्ड फरेष्ट्रिले लिएको छ ।
कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको नेपालमा सानो लगानीबाटै प्रशस्त मात्रामा कृषि उपजको उत्पादन गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्न सकिने विश्वासका साथ जनता एग्रो एण्ड फरेष्ट्रिले बिजम्याच सोलुसनसँग समझदारी गरिएको जनाएको छ । यस सहकार्यले नेपाली उत्पादनलाई विश्व बजारमा थप अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
जनता एग्रो एण्ड फरेष्ट्रिले नेपालमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशन तथा प्रोत्साहनका निम्ती विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।









