राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्य एवं नेपाल डेरी एसोसिएसनको आयोजनामा पाँच दिने मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मत तालिम कार्यक्रम रामेछापको मन्थलीमा सम्पन्न भएको छ । फागुन २१ देखि शुरु भएको तालिम फागुन २५ गते सम्पन्न भएको हो ।
कार्यक्रमको शुभारम्भ मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठको प्रमुख आतित्यतामा भएको थियो भने बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलको प्रमुख आतिथ्यता एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसन्धान एवं योजना अधिकृत दिपेन्द्र अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा दुग्ध विकास बोर्ड लेखा प्रमुख ओम खरेल, बोर्ड सदस्य रामभक्त दाहाल, एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, केन्द्रीय कोषाध्यक्ष निराजन कोइराला, नेपाल डेरी एसोसिएसनका बागमती प्रदेश र केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सदस्य, रामेछाप जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक भानु श्रेष्ठ, प्रशिक्षक गोविन्द शर्मा, मन्थली दुग्ध सहकारीका अध्यक्ष धुर्व थापा, सहकारीकर्मी प्रज्ञान खड्का, प्रमोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रामेछाप सिन्धुली र दोलखाका गरी २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
उपस्थित सबैलाई प्रशिक्षक गोविन्द शर्माले ५ दिने कार्यक्रमको बारे प्रकाश पारेका थिए । उपस्थित सबैलाई बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले स्वागत गर्दै तालिम कार्यक्रम बारे प्रकाश पारेका थिए ।
प्रदेश उपाध्यक्ष हरि पौडेलले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सबैलाई अनुरोध गर्दै समयअनुसार नयाँ नयाँ प्रविधिमा जानुपर्ने बताए । नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले यसरी विभिन्न खालका गतिविधिहरु गर्ने क्रममा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै आफ्ना सदस्यहरूको हितमा विभिन्न ठाउँमा त्यहाँको आवश्यकता अनुसार यस्ता कार्यक्रमहरु निरन्तर गरिरहने कुराको जानकारी गराए ।
राष्ट्रिय दूध विकास बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारीले सिकेको कुरा सबैलाई सिकाई आवश्यक अनुसार अरु समयमा पनि यस्ता कार्यक्रम आयोजना गरिने कुरा बताए । समय समयमा यस्ता कार्यक्रमहरू आयोजना गरी दुग्ध किसान र डेरी उद्योगीहरूको हितमा निरन्तर काम गर्न तालिमका सहभागी दुई जनाले नेपाल डेरी एसोसिएसन र बोर्डलाई आग्रह गरे ।
रामेछाप अध्यक्ष भानुभक्त श्रेष्ठले यसरी यहाँसम्म आई तालिमको आयोजना गरेकोमा नेपाल डेरी एसोसिएसन र राष्ट्रिय विकास बोर्डलाई विशेष धन्यवाद दिदै रामेछापको मन्थलीमा ३ जिल्लाबाट आई मिल्क एनालाइजर सञ्चालन मर्मत सम्भार कार्यक्रमम सहभागी हुने सबैलाई विशेष धन्यवाद व्यक्त गरे । कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।









