नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्ला समिति गठन भएको छ । रामेछाप जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले अध्यक्षमा भानुभक्त श्रेष्ठ (चिरञ्जीवी डेरी उद्योग), उपाध्यक्षमा मनोहर कुमार कार्की (समृद्धि डेरी उद्योग), सचिवमा किशोर पौडेल, कोषाध्यक्षमा केशरबहादुर खत्री र सदस्यमा बलराम मगर (गोठपानी देवी उद्योग) चयन गरेको छ ।
डेरी एसोसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दीपक सन्जेलका अनुसार बाँकी सदस्यहरू जिल्ला समितिले मनोनयन गरी समितिलाई पूर्णता दिनेछ ।
सो समिति गठन गर्ने क्रममा आयोजित भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दूग्ध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।
कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद प्रसाद पौडेलले नेपाल डेरी एसोसिएसनले सात प्रदेशमा कमिटी गठन गरी आफ्ना जिल्ला कमिटीहरु पनि बनाउँदै लगेकोमा खुसी व्यक्त गर्दै बागमती प्रदेश दुग्ध विकास बोर्ड नेपाल डेरी एसोसिएसनसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले नेपाल डेरी एसोसिएसनले सकेसम्म आफ्ना सबै जिल्लाहरूमा शाखा कमिटी गठन गर्दै जाने र दुग्ध क्षेत्रको थप उन्नति र प्रगतिमा सधैं लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
रामेछाप समितिका नवनिर्वाचित अध्यक्ष भानुभक्त श्रेष्ठले आफू पूरानो सदस्य भएता पनि जिल्लामा धेरै उद्योग नभएकोले समिति गठन गर्न नसकेको र हाल उद्योगको संख्या बढ्दै गएकोले रामेछाप जिल्ला कमिटी गठन हुन सकेको जानकारी दिए ।
नेपाल डेरी एसोसिएसन डेरी क्षेत्रको सशक्त राष्ट्रिय संगठन हो । हाल नेपाल डेरी एसोसिएसनमा २३ जिल्ला समिति गठन भइसकेको र अरु जिल्ला समितीहरु बन्ने क्रममा रहेका छन् ।









