भारतबाट नेपालले ९० हजार टन गहुँ आयातको तयारी अघि बढाएसँगै विभिन्न ५८ फर्मले आवेदन दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भारतबाट गहुँ आयात गर्न ५८ फर्मले इच्छा देखाएका हुन् ।
विभागले माघ २० गतेसम्मको समय राखेर आपूर्तिकर्ताबाट प्रस्ताव माग गरेको थियो । यस अविधिमा ५८ फर्मको आवेदन परेको विभागले जनाएको छ ।
विभागका अनुसार आवेदन फर्मले न्यूनतम २ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने छन् । विभागले अब आवेदक कम्पनीमध्ये राजस्वमा गरेको योगदान, खाद्यान्न आयातमा विगतको अनुभव र क्षमताका आधारमा प्राथमिकता दिई कोटा बाँडफाँट गर्नेछ ।
कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी गराउनुपर्ने छ ।









