नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले राष्ट्र बैंकले जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति अपेक्षा भन्दा फरक तरिकाको आएको जनाएको छ । मौद्रिक नीति पश्चात प्रतिक्रिया दिँदै नाडाले असार २७ गते जारी मौद्रिक नीति अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको महशुस गरिएको जनाएको हो ।
‘मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र होइन कही कतै सम्बोधन समेत गरिएको छैन । सुधार गरिनुपर्ने अटोमोवाइल क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिहरुलाई अहिले पनि यथावतै राखिएको छ । सवारी साधनहरुको आयातको सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था गरिएको छैन’ नाडाले भनेको छ ।
अघिल्ला वर्षहरूमा जस्तै विद्युतीय सवारीसाधनका लागि भन्सार तथा कर छुट कायम राखिएको भए पनि अन्य महत्वपूर्ण क्षेत्रहरू सवारी ऋण, आयात प्रक्रिया र औद्योगिक मान्यतामा कुनै उल्लेखनीय सुधार नगरिएको नाडाले जनाएको छ ।
यद्यपि, उक्त मौद्रिक नीतिले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन दिन खोजेको र ग्रिन फाइनान्स र दिगो यातायात पूर्वाधारको विकासलाई प्रवद्र्धन गर्न खोजेको नाडाले जनाएको छ । तर, विद्युतीय सवारी साधनका लागि प्रत्यक्ष रुपमा कर्जा प्रवाहलाई प्राथमिकता नदिइएको र यसलाई केवल ग्रिन अग्रसरताको रुपमा मात्र लिइएकोे भन्दै नाडाले थप स्पष्टता खोजेको छ ।
उक्त मौद्रिक नीतिले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृत दिने नीतिगत एवं प्रकृयागत व्यवस्थामा Fit and Proper Test कर्जाको व्याजदर गणना, सेवा शुल्क लगायतका विषयहरुलाई समेटी उक्त नियमाकिय व्यवस्थामा आवश्यक संशोधन गरिने भनेकोमा भने नाडाले सकारात्मक रहेको जनाएको छ ।
‘सवारी ऋणको सन्दर्भमा, विशेषगरी इन्धनबाट चल्ने तथा लग्जरी सवारी साधनहरूका लागि Loan–to–Value-LTV को प्रावधानमा अझै पनि कडाइ गरिएका छन् । व्यक्तिगत सवारी ऋणका लागि दिइने कर्जा प्रावधानहरूमा कुनै संशोधन गरिएको छैन, जसले अनुदार नीतिलाई नै निरन्तरता दिएको संकेत गर्छ । हालैका बाढी तथा सीमासम्बन्धी अवरोधहरूले वाधा पु¥याएको स्वीकारिएको भए पनि, सवारी साधनहरुको आयातलाई सहज बनाउने सम्बन्धमा कुनै नयाँ उपायहरू नीतिमा समावेश गरिएको छैन’ नाडाले भनेको छ ।
नाडाले मौद्रिक नीतिमा अटामोवाइल क्षेत्रको उत्थानका लागि कुनै विशेष रोडम्याप अथवा सुधारका कार्यक्रमहरु तय नगरिएको जनाउँदै अटोमोवाइल क्षेत्रलाई प्राथमिकतामा राखिएको नदेखिएको जनाएको छ ।













