नेपाल धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share, PNCPS) निष्काशनको अनुमति प्रदान गरेको छ। बोर्डले आज मङ्सिर ५ गते नबिल बैंकलाई यस्तो शेयर निष्काशनको अनुमति दिएको हो ।
नबिल बैंकले ५ अर्बको अर्थात् प्रति कित्ता १०० रुपैयाँ दरको ५ करोड कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । धितोपत्र बोर्डले “८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर / Nabil 8% Perpetual Non-Cumulative Preference Share” परिपत्र विधिबाट बिक्रीका लागि स्वीकृति दिएको हो । बैंकले यसमा ८ प्रतिशत लाभांश प्रदान गर्ने छ। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यो शेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण (Capital Market Instrument) हो।परिपत्र विधिबाट निष्काशन हुने यो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो शेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ।नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असंचिति प्रकृतिको अग्राधिकार शेयर भनिएको हो।
खासगरी सन् २००७-२००९ को विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा भने पहिलोपटक निष्काशन हुन लागेको हो।बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको छ।यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन्।अग्राधिकार शेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे बमोजिम हुनेछ।कम्पनी विघटनको समयमा यस शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पूँजीभन्दा पछाडि रहन्छ।
यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने हुँदा वित्तीय संकटको जोखिमलाई न्यूनिकरण गर्ने र वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्न सक्ने देखिन्छ।साथै, लगानीकर्तालाई पनि लगानीको नयाँ उपकरण उपलब्ध हुनेछ।यद्यपि, यो शेयर अविमोच्य र अंसचिति प्रकृतिको भएकोले संस्थागत लगानीकर्ताले लगानी गर्नु अगाडि विवरण पत्र र Risk Disclosure Statement राम्रोसँग अध्ययन गर्नु अनिवार्य छ। साथै, आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ।













