नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको स्पष्ट पारेको छ। ‘सिटामोल’ को अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको जनगुनासोबारे आफ्नो ध्यानाकर्षण भएको लिमिटेडले जनाएको छ ।
लिमिटेडका अनुसार लिमिटेडको प्रमुख उत्पादनको रूपमा रहेको सिटामोल (Paracetamol Tablet) को नियमित उत्पादन भइरहेको छ। साथै लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको लिमिटेडले जनाएको छ ।
साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको पनि लिमिटेडले प्रष्ट पारेको छ ।









