माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेका छन् । राहत प्याकेज तत्काल घोषणा गर्न केही ढिलाइ भएको थियो।
एनडब्लुइडिसी सहित ठेक्केदार कम्पनीहरूले विपद्पछि जारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकायलाई प्राथमिकताका साथ आवश्यक सहयोग र समन्वय गर्दै आएका कारण घोषणा प्रक्रिया केही पर सरेको बताईएको छ । यस क्रममा प्रभावित कामदार, तिनका परिवारजन र सम्पूर्ण सरोकारवालाले भोगेको कष्ट तथा अन्यौलप्रति कम्पनीहरू पूर्ण संवेदनशील रहेको जनाएको छ।
भदौ २० गते शनिबार माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका आयोजनास्थलमध्ये एक स्थलबाट एक जना चिनीया कामदारको उद्धार भएपछि नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले भग्नावशेषमा अझै फसिरहेका सम्भावित व्यक्तिहरूको यथाशिघ्र उद्धार गर्ने उद्देश्यले सुरक्षा निकायलाई आफ्नो सहयोग थप सुदृढ गरिरहेको छ ।
एनडब्लुइडिसीेले बाढी आएको समयमा आयोजनाका विभिन्न स्थलमा कार्यरत रहेका व्यक्तिहरूको सूची तयार गरिरहेको छ । कामदार तथा कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भएपछि सबै परिवारलाई जानकारी गराइनेछ ।
बाढी आएको समयमा आयोजनास्थलहरूमा इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) ठेकेदार दुसान एनरबिलिटि र दुईवटा सब–कन्ट्र्याक्टर (पावर कन्स्ट्रक्सन कोरपोरेसन चाइना र एन्र्डीच हाइड्रो) सहित करिब एक हजार चार सय ३३ जना कामदार कार्यरत थिए । शनिबारसम्म आठ सय ७६ जना कामदार तथा कर्मचारीको उद्धार भइसकेको छ भने पाँच सय ५७ जना अझै सम्पर्कविहीन छन् ।
निर्माण कम्पनीले भनेको छ ‘जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ । बाढीबाट प्रभावित सबैप्रति हाम्रो गहिरो सहानुभूति छ । हामी यस विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’
कम्पनीका अनुसार इपिसीका ठेकेदार (दुसान एनरबिलिटि) तथा सब–कन्ट्र्याक्टरहरूले (पावर कन्स्ट्रक्सन कोरपोरेसन चाइना र एन्र्डीच हाइड्रो) पनि आफ्ना कामदार तथा कर्मचारीहरूको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेका छन् र यो नै अहिले उनीहरू सबैको पहिलो प्राथमिकता हो । विभिन्न स्रोत तथा सरकारी निकायलगायतबाट प्राप्त सूचनाहरूको आधिकारिक पुष्टि भइसकेपछि कम्पनीहरूले सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीले जनाएको छ ।









