नेपाल राष्ट्र बैंकले बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बाढी प्रभावित ग्राहकहरुलाई पनि बैंकिंङ सेवा दिनु पर्ने छ। जस अनुसार बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरुलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा ग्राहक यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग / सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भएकाले यो सुविधा पाउने छन् ।









