चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली बढेको छ । बिक्रेताहरुका अनुसार अहिले चामलको भाउ प्रतिबोरा (२० किलोग्राम) २ सयसम्म र चिनीको भाउ प्रतिकिलो ३० रुपैयाँसम्म बढेको छ । पछिल्लो एक महिनामा चामल र चिनीको भाउ अस्वभाविक रुपमा बढेको हो ।
खाना पकाउने तेलको भाउ पनि बढ्न थालेको छ। अरु दैनिक उपभोग्य वस्तुको भाउ पनि पछिल्लो समय बढ्न थालेपछि चाडवाड महँगिने चिन्ताले उपभोक्ताहरुलाई सताउन थालेको छ।
‘भारतमा धान महँगो हुँदा नेपालमा चामल महँगियो’
नेपाल चामल, तेल, दाल उद्योग संघका अनुसार चामलको भाउ बढ्नुमा आन्तरिक कारण नभई बाह्य कारण प्रमुख छ । चामलको भाउ बढेको गुनासो आएपछि वाणिज्य विभागले उद्योगीहरुसहित छलफल गरेको थियो । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले पनि चामल मिल सञ्चालकहरुसँग यस सम्बन्धमा छलफल गरेको थियो ।
दुबै छलफलमा उद्योगीहरुले भारतमा धानको भाउ बढेका कारण नेपालमा चामल महँगिएको जवाफ दिएका थिए । भारतले अहिले खाद्य सुरक्षाको जोखिमलाई मध्यनगर गर्दै धानको सञ्चिति बढाउने नीति लिएको र त्यसको प्रभाव स्वरुप निकासी हुने धानको भाउ बढेका कारण त्यसको असर नेपालमा परेको उद्योगीहरुको भनाइ छ ।
‘अल निनो भनिने मौसमी प्रणालीले विश्वभरी नै खाद्यान्न उत्पादन घट्ने प्रक्षेपण भइरहेका बेला भारतले यसबाट सिर्जना हुन सक्ने खाद्य असुरक्षालाई ध्यानमा राखेर सञ्चिति बढाउने र निर्यात घटाउने नीति लिएको छ’ एक जना उद्योगीले भने, ‘त्यसकारण हामीले भारतबाट धान्न किन्दा नै महँगो पर्न थाल्यो । धान नै महँगो भएका कारण चामलको भाउ बढ्न गएको हो ।’
आन्तरिक उत्पादनको तथ्याङ्कमै उद्योगीको शंका
सरकारले (कृषि मन्त्रालयले) नेपालमा वार्षिक ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको बताउँछ । तर, उद्योगीहरु भने यो तथ्याङ्कलाई शंकको दृष्टिले हेर्छन् । ५७ लाख टन धान उत्पादन हुने हो भने औद्योगिक माग पूरा गर्न खासै कठिनाई नहुने उद्योगीहरुको बुझाई छ ।
‘५७ लाख मेट्रिक टन धान फल्छ भनिन्छ, तर उद्योगमा आउने अंश निकै कम मात्र छ । फलेको धान कहाँ गइरहेको छ ?’ एक अर्का उद्योगी प्रश्न गर्छन्, ‘नेपालमा धानको माग वार्षिक ७० लाख टन छ भनिन्छ, यस आधारमा उत्पादन र मागबीच जम्मा १०/१२ लाख टनको मात्रै ग्याप हो । त्यो ग्याप पूरा गर्न हामीले के गरेका छौँ ? त्यसको रिजल्ट किन आइरहेको छैन ?’
उद्योगीहरुले एकातिर धान खेती हुने जमिन घटिरहने र अर्कातिर उत्पादन चाहिँ वार्षिक ५७/५८ लाख मेट्रिक टन देखिने गरेकोप्रति आशंका गरेका छन् । ‘यो कतै जीडीपी बढेको देखाउने खेल मात्रै त होइन ?’ उद्योगीहरुको प्रश्न छ ।
‘मोटो धान वियर उत्पादनमा जान्छ, मसिनो फल्दै फल्दैन’
अहिले खाना पकाउने चामलका लागि मसिनो धान चल्तीमा छ । मोटो धान (मोटा चामल)को उपभोग अत्यन्त कम छ । तर, नेपालमा फल्ने अधिकांश धान मोटो छ । यसको खपत मदिरा उद्योगमा हुने गरेको धान मिल सञ्चालकहरुको भनाइ छ ।
‘हामीकहाँ उत्पादन हुनेमध्ये अधिकांश धान मोटो छ, त्यसको खपत वियर बनाउने फ्याक्ट्रीतिर बढी हुन्छ’ एक जना उद्योगीले थपे, ‘मसिनो धान भारतबाट ल्याउनुपर्छ । अहिले भारतमै मूल्य बढेका कारण हामीकहाँ चामलको भाउ बढ्न गयो ।’
उद्योगीहरुका अनुसार नेपालमै चामल उत्पादन गर्ने उद्योगभन्दा तयारी चामल आयात गरेर बेच्नेहरुको संख्या बढी छ ।
‘चामल, तेल र चिनीको भाउ अचाक्ली बढ्यो’
खुद्रा ब्यापार संघले भने अहिले गत महिनाको तुलनामा मूल्य बढेको भएपनि यो ‘स्वभाविक हो कि, अस्वभाविक हो’ भनेर बहस हुनुपर्ने बताएको छ । खाने तेल (सन्फ्लावर) को भाउ प्रतिलिटर २९० रुपैयाँसम्म पुगेको, चिनीको भाउ प्रतिकिलो ११५ देखि १२० रुपैयाँसम्म पुगेको र चामलको भाउ प्रतिबोरा (२० किलो) २४ सय ५० रुपैयाँसम्म पुगेको संघको भनाइ छ ।
‘यसमा ब्राण्ड अनुसार केही तलमाथि छ’ खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भने, ‘मूल्य बढेको छ कि छैन भनेर सोध्दा बढेको छ, अब यो स्वभाविक हो कि अस्वभाविक हो भन्ने चाहिँ हामीले जान्ने कुरा भएन ।’









