नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्षको मात्रै हुने भएको छ । संसदको अर्थ समितिले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, र संचालकको कार्यकाल ३ वर्ष मात्रै राख्ने सहमति गरेको हो। राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै अर्थ समितिले गभर्नर, डेपुटी गभर्नर र संचालकको कार्यकाल ३ वर्ष कायम गर्ने सहमति गरेको हो ।
यद्यपि नेपाल सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिव देखेमा कार्यकाल समाप्त भएको गभर्नर, डेपुटी गभर्नर र संचालकलाई दुई वर्षका लागि पुन: नियुक्ति गर्न सक्ने व्यवस्था राखिएको छ। हाल भने गभर्नर, डेपुटी गभर्नर र संचालकको कार्यकाल ५ वर्षको हुने र गभर्नरलाई १ पटकको लागि र संचालकलाई जतिसुकै पटकको लागि पुन:नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
समितिले सहमति गरेअनुसार नै विधेयक पारित भएमा अब गभर्नर, डेपुटी गभर्नर र संचालकको पदावधि ३ वर्ष र नेपाल सरकारले पुन:नियुक्ति गरेमा अधिकतम ५ वर्षको मात्र हुनेछ ।
अर्थ समितिले यस अघि नै राष्ट्र बैंकमा कम्तिमा एक जना महिला संचालक हुनैपर्ने व्यवस्थामा सहमति गरिसकको छ। समितिले राष्ट्र बैंकको संचालक समितिमा एक महिला सहित ७ जना संचालक रहने सहमति गरेको हो।









