सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गर्दा योग्यता घटाएको विषय यतिखेर चर्चामा छ । अर्थ मन्त्रालयले गठन गरेको नेप्सेको सीइओ सिफारिस समितिले साउन १२ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र अर्थात् साउन २६ गतेसम्म आवेदन दिन भनेको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु पर्ने छ । आवेदनसाथ गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नु पर्ने छ।
तर यस पटक नेप्सेको सीइओको लागि आवश्यक पर्ने योग्यता केही घटाइएको छ । सूचनामा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको नेपाली नागरिकले आवेदन दिन सक्ने उल्लेख छ।
तर व्यवस्थापकीय तहको परिभाषा मार्फत सीइओको लगी चाहिने योग्यता घटाईएको छ । व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृत स्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरह वा कम्पनी वा सङ्गठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनु पर्ने भनिएको छ। यस अघि भने उच्च व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनुपर्ने व्यवस्था थियो। अर्थात् यस अघि अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी हुनु पर्ने व्यवस्था रहेकोमा अहिले भने श्रेणी घटाएर कम्तिमा द्वितीय श्रेणी कायम गरिएको छ ।
यस संगै नेप्सेको सीइओ हुने व्यक्ति पहिले नै तोकेर, औपचारिकताको लागि मात्र आवेदन माग गरि सीइओ नियुक्तिमा म्याच फिक्सिङ गरेको आरोप अर्थमन्त्रालयमाथि लागेको छ । मन्त्रालयले योग्यता घटाए पनि नेप्सेमा हाल रहेका कुनै पनि उच्च तहका कर्मचारीको योग्यता नपुग्ने स्रोत बताउछ। त्यससंगै नेप्सेको नयाँ सीइओ नेप्से बाहिरबाट नै आउने निश्चित छ।
मन्त्रालयले योग्यता घटाएर अधिकृतस्तरको कम्तिमा द्वितीय श्रेणी कायम गरेको छ । यो भनेको उपसचिव सरहको पद हो। यस सँगै मन्त्रालयले नेप्सेको सीईओमा अन्य तोकिएको योग्यता पुगेका सरकारी सेवाबाट अवकाश पाएका वा पाउन लागेका कोही उपसचिवलाई नियुक्त गर्न खोजेको चर्चा छ। त्यस्तै राष्ट्र बैंक सेवाबाट अवकाश पाएका वा पाउँन लागेकालाई पनि नियुक्त गर्न सक्ने बजार चर्चा छ। राष्ट्र बैंकका द्वितीय श्रेणी भनेको उपनिर्देशक सरहको पद हो । त्यससंगै नेप्सेमा राष्ट्र बैंकबाट अवकाश पाएका वा पाउन लागेका कोही उपनिर्देशकलाई नियुक्त गर्न खोजिएको हुन सक्ने चर्चा बजारमा छ ।
सरकारले हालै मात्र नेपाल धितोपत्र बोर्डमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका डा. गोपाल भट्टलाई अध्यक्ष नियुक्त गरिसकेको छ। राष्ट्र बैंककै क्याडर नेप्सेमा पनि आउँदा सहज हुने आँकलनले नेप्सेमा पनि राष्ट्र बैंककै कोही क्याडर आउँन सक्ने अनुमान बजारले गरेको छ।
तर भर्खर आवेदन माग भएको दुई दिन भएकोले कसको लागि योग्यता घटाईएको हो भन्ने अहिलेनै भन्न सकिँदैन। राष्ट्र बैंक वा सरकारका अवकाश प्राप्त कोही व्यक्ति बाहेक अन्यपनि बलियो दाबेदारको रुपमा आउँन सक्छन्। यद्यपि आवेदन दिने मिति समाप्त भईसकेपछि भने आवेदकहरुलाई हेरेर नेप्सेमा नियुक्त हुन सक्ने सम्भावित व्यक्ति यकिन हुनसक्ने स्रोत बताउछ।
त्यसोत विगतमा पनि नेप्सेमा सीइओ नियुक्ति हुँदा योग्यतालाई ख्याल गरिएको थिएँन। चन्द्र सिंह साउदपछि सीइओ नियुक्त भएका कसैको पनि तोकिएको योग्यता नपुगेको चर्चा बजारमा हुने गरेको छ।
कतिपयले अहिले कानून विपरित योग्यता घटाईएको दाबी गर्ने गरेका छन् । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा धितोपत्र बजारको सीइओको योग्यताबारे व्यवस्था छ । जसको नियम १६ मा उच्च व्यवस्थापकीय तह भन्नाले “नेपाल सरकारको अधिकृत स्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह” हुने नै उल्लेख छ । तर सोहि नियमावलीको नियम २१ मा “अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा नेपाल औद्योगिक विकास निगमले ग्रहण गरेको नेपाल धितोपत्र विनिमय बजारको शेयर बिक्री नगरेसम्म सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धमा यस नियमावलीको व्यवस्था लागू हुने छैन ।” भन्ने अर्को व्यवस्था राखिएको छ । नेप्सेमा सरकारको शेयर रही नै रहेकोले योग्यता घटाएको विषय भने कानूनसम्मत नै हुने देखिन्छ।
अरु के चाहिन्छ योग्यता ?
नेप्से सीइओको लागि आवेदन दिनको लागि नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा (२.२) र दफा (२.३) बमोजिम अयोग्य नभएको हुनु पर्ने छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ को खण्ड (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने छ । साथै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ४ ले तोके बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ ।
आवेदन साथ अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np र नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com मा प्रकाशित “नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३” को दफा ३ बमोजिमका कागजात तथा विवरणहरू र ऐ. कार्यविधिको अनुसूची १ बमोजिमको स्वघोषणा फाराम आवेदक स्वयंले प्रमाणित गरी र २ (दुई) प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नुपर्नेछ।
आवेदन साथ नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०७३ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना ३ (तीन) प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर आवेदकको नाम र “नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरी दस्तखत गरेको हुनुपर्नेछ । आवेदन दिनको लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
यस अघि नेप्सेको सीइओ रहेका चुडामणि चापागाईले राजीनामा दिएपछि हाल नेप्सेमा सीइओ पद रिक्त छ ।









