चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८३ वैशाखसम्मको अवधिमा कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा १८.१६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ४७ अर्ब ७९ करोड थियो।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ५ अर्ब १९ करोड, तथा कुमारी बैंकले ४ अर्ब ४९ करोड खुद नाफा कमाएको छ।
यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३३ करोड २९ लाख रहेको छ भने हिमालयन बैंकले ८० करोड २८ लाख खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष २०८२ वैशाख र २०८३ वैशाख अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सर्वाधिक ८३३.१० प्रतिशतले बढेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ८१.६४ प्रतिशतले बढेको छ भने सानिमा बैंकको खुद नाफा ४३.६६ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८२ वैशाख र २०८३ वैशाखको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ७ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये प्रभु बैंकको खुद नाफा सर्वाधिक ४१.७० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ३०.४४ प्रतिशत घटेको छ। त्यस्तै नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २४.२५ प्रतिशत घटेको छ।
हेर्नुस् आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को पहिलो १० महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।













