विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड ‘जेडब्ल्यू मेरियट’ नेपाल आउने भएको छ । एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले जेडब्ल्यू मेरियटलाई नेपाल भित्र्याउन मेरियट इन्टरनेशनलसँग सम्झौता गरेको हो । यससँगै अब जे डब्ल्यू मेरियट सन् २०३१ को सुरुवात सम्ममा सञ्चालनमा आउनेछ ।
यसअघि मेरियटकै ३ वटा ब्राण्ड ल्याइसकेको एमएस ग्रुपले मेरियटसँग चौथो सहकार्य पक्का गरेको हो । कम्पनीले यसलाई नेपालको विलासी आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
होटलमा २२१ वटा विलासी कोठा रहनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौं उपत्यकाका विभिन्न विश्व विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा सांस्कृतिक स्थलहरूमा सहज पहुँच हुने बताइएको छ ।
होटलमा विभिन्न रेष्टुरेन्ट तथा भोजनालय, स्पा, फिटनेश सेन्टर, स्वीमिङ पुल, जे–डब्ल्यू गार्डेन तथा १६ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको सभा तथा कार्यक्रम स्थल रहनेछ ।
सम्झौतापत्रमा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका प्रबन्ध निर्देशक गौरव अग्रवाल र मेरियट एसिया प्रशान्तका अध्यक्ष राज मेननले हस्ताक्षर गरेका छन् । यसैगरी क्यापिटल होटलतर्फबाट शशिकान्त अग्रवाल र मेरियट इन्टरनेशनलका तर्फबाट डेभिड मेरियटबीच सम्झौता आदानप्रदान भएको छ ।
सम्झौता समारोहमा गौरव अग्रवालले मेरियटसँग पुनः साझेदारी गर्दै नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने एक विशेष होटल निर्माणको थालनी गर्न पाउँदा आफूहरु अत्यन्त उत्साहित रहेको बताए । उनले नेपालको देशको संस्कृति र मौलिक आतिथ्यतालाई विश्वस्तरीय आतिथ्यसँग जोड्दै अविस्मरणीय अनुभव प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
मेरियट इन्टरनेशनलले विश्वका १४५ देश र क्षेत्रहरूमा ९ हजार ८ सयभन्दा बढी होटल सञ्चालन गर्दै आएको छ । नेपालमा मेरियटका मोक्सी, फेयरफिल्ड र मेरियट गरी ३ वटा ब्राण्ड यसअघि नै सञ्चालनमा आइसकेका छन् । यी सबैलाई एमएस ग्रुपले नेपाल भित्र्याएको हो ।












