ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को विधान संशोधन हुने भएको छ । जेठ २९ गते हुने साधारणसभामा विधान संशोधन प्रस्ताव पेश हुने भएको हो ।
आइतबार बसेको इप्पानको बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको प्रावधान संशोधन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो । अब दुइ कार्यकाल पश्चात लागू हुने गरी विधानको उक्त प्रावधान संशोधन गर्ने निर्णय भएको इप्पान स्रोतले बताएको छ ।
‘अब हुने साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी अध्यक्ष बन्नुहुन्छ । उहाँको कार्यकाल सकिएपछि एक कार्यकाल पनि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्नेछन्’ स्रोतले भन्यो, ‘त्यसपछि भने अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय भएको छ ।’
कार्यसमितिले गर्ने प्रस्ताव बमोजिम विधान संशोधन भएमा अबको २ कार्यकाल पछि वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान हट्नेछ । ‘वरिष्ठ उपाध्यक्ष पद चाहिँ रहने तर स्वतः अध्यक्ष भन्ने प्रावधान चाहिँ हटाउन लागिएको हो’ स्रोतले थप्यो ।
पदाधिकारीमा चुनाव लड्न हालको प्रावधान अनुसार एक कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्छ । तर, विधान संशोधन गरेर अर्को कार्यकाल (३ वर्ष पछिको) बाटै कार्यसमिति सदस्य नभएपनि पदाधिकारीमा चुनाव लड्न पाउने व्यवस्था गर्न लागिएको छ । साथै, अध्यक्षमा प्रत्यक्ष चुनाव हुँदा एक कार्यकाल पदाधिकारी भएको व्यक्ति पनि चुनाव लड्न योग्य हुने गरी विधान परिमार्जन गर्न लागिएको छ ।
‘२०५७ सालदेखि अहिलेसम्म धेरै साथीहरु आइसक्नु भएको छ । उहाँहरु सबैलाई चुनाव लड्न सहज हुने गरी विधान संशोधन गर्नु उचित हुन्छ भन्ने निष्कर्षका आधारमा साधारणसभामा विधान संशोधन प्रस्ताव लैजान लागिएको हो’ इप्पानका एक पदाधिकारीले भने ।
कार्यकाल नघटाइने
इप्पान कार्यसमितिको कार्यकाल हाल ३ वर्षको छ । यसलाई २ वर्षमा झानुपर्ने आवाज उठे पनि तत्काल कार्यकाल भने नघट्ने भएको छ । ऊर्जा क्षेत्र निकै नै प्राविधिक र जटिल विषय भएकाले सम्बन्धित निकायहरुमा बुझाउन समय लाग्ने हुँदा ३ वर्षको कार्यकाल नै उपर्युक्त भएको निष्कर्ष निकाल्दै कार्यसमितिले कार्यकालबारे साधारणसभामा कुनै पनि प्रस्ताव नलैजाने निर्णय गरेको छ ।
‘कार्यकाल २ वर्षमा झार्नुपर्छ भन्ने एक दुइ जना साथीहरुको कुरा आयो, तर यो क्षेत्र (ऊर्जा क्षेत्र)को गाम्भीर्यता बुझेर ३ वर्ष नै उपर्युक्त छ, छोट्याउनु हुँदैन भन्ने निष्कर्ष निकालियो’ इप्पानका अर्का एक पदाधिकारीले भने, ‘साधारणसभामा विधान संशोधन प्रस्ताव पेश हुँदा कार्यकाल सम्बन्धि प्रस्ताव जाँदैन ।’
इप्पानको साधारणसभा जेठ २९ गते होटल याक एण्ड यतीमा आयोजना हुँदैछ ।












