विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त क्यासेकेड २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको छ।
यो आयोजना कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माण हुने छ । मकालु गाउँपालिका वडा नम्बर १, ५, ६ र चिचिला गा.पा. ३ मा अरुण नदी र अप्सुवा खोलाको भन्दा माथिल्लो तटीय क्षेत्रमा अरुण नदीको दायाँ किनारमा इसुवा खोला PROR क्यास्केड ४०.१ मेगावाटको टेलरेसबाट निस्कने पानीलाई पुनः प्रयोग गर्ने गरी यो क्यास्केड आयोजना बन्ने छ । यस आयोजनाबाट वार्षिक सरदर ६७.६९ गिगावाट घण्टा विद्युत उत्पादन हुने छ ।
यस आयोजनाका प्रमुख संरचनाहरू कोशी प्रदेश, सङ्खुवासभा जिल्ला, मकालु र चिचिला गाउँपालिका अन्तर्गत अरुण नदीको दायाँ किनार क्षेत्रमा अवस्थित रहनेछन् । विद्युत उत्पादनका लागि इसुवा खोला PRoR क्यास्केड जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानी हेडरेस पाइपमा फर्काउन बनाइने सङ्कलन पोखरीको कुल लम्बाइ २८ मि. को हुनेछ । हेडपोण्डमा spillway को Crest Elevation Level समुन्द्री सतहबाट ६५९.९० मि. उचाइमा रहनेछ । हेडपोण्ड RCC आयाताकार किसिमको हुनेछ । यसको आकार ३० मि. लम्बाइ, १० मि. चौडाइ र ४ मि. उचाइको हुनेछ ।
अरुण नदीको दायाँ किनारमा ५५५५.९२ मि. लम्बाइको हेडरेस पाइप प्रस्ताव गरिएको छ । यस पाइपको भित्री व्यास २.९० मि. हुने र मोटाइ १० मि.मि. को हुनेछ । Upsurge, downsurge र water hammer चापलाई थेग्नका लागि हेडरेस पाइप र पेनस्टक पाइपको Junction को बीचमा २.९० मि. व्यास र ३० मि. लामो सर्ज पाइप प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजनामा १९२ मि. लामो स्टिल पेनस्टक पाइप प्रस्ताव गरिएको छ । यस पाइपको भित्री व्यास २.६० मि. को बीचमा हुनेछ। पाइपको मोटाइ १० मि.मि. देखि १२ मि.मि. सम्मको हुनेछ ।
अरुण नदीको दायाँ किनारमा सतही विद्युत गृह प्रस्ताव गरिएको छ । यस संरचना ३५.१० मि. लम्बाइ, २१.३० मि. चौडाइ र २२.८५ मि. उचाइको हुनेछ । विद्युत गृहभित्र २ वटा फ्रान्सिस टर्वाइनहरू रहनेछन् । आयोजनाको टेलवाटर लेभल समुद्री सतहबाट ५६६ मि. मा हुनेछ । विद्युत गृहबाट निस्किने पानी ४२.२० मि. लामो टेलरेस नहर मार्फत अरुण नदीमा छोडिनेछ । उक्त नहरको चौडाइ ३ मि. र उचाइ ३ मि. को हुनेछ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत करिब १५ कि.मि. लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको शीतलपाटी सब-स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । यो आयोजनाको Required Commercial Operation Date (RCOD) – चैत २०८५ (April, 2029) भित्र सम्पन्न गरी व्यावसायिक उत्पादन (COD) मा लैजाने लक्ष्य रहेको छ ।
यस कम्पनीका अध्यक्ष बिक्रम विष्ट हुन् ।












