अर्थ मन्त्रालयमा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट लेखनको काम तीव्र गतिमा भइरहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब २ हप्ता अघि भनेका थिए, ‘अबको एक महिना हामी बजेट लेख्ने काममा बढी केन्द्रित हुन्छौँ, मस्यौदा तयार भइसकेपछि मात्रै १५ दिन जति त्यसबारे छलफल गरेर अन्तिम रुप दिन्छौँ ।’
जेठ १५ गते बजेट भाषण गर्नैपर्ने संवैधानिक प्रावधान छ । तर, सरकारले बैशाख १५ गतेसम्म बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छैन । जसका कारण संसदमा बजेटबारे छलफल हुन पाएको छैन । साथै, निजी क्षेत्रले पनि प्रत्यक्ष बजेट छलफल आयोजना गरेका छैनन् । यसकारण आगामी आर्थिक वर्षको बजेट पर्याप्त छलफल बिना नै आउने हो कि भन्ने आशंका पनि उब्जेको छ ।
बजेटको आकार कति ?
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट ठूलो आकारको हुने छैन । बैशाख ९ गते राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको बजेटबारेको छलफलमा उपाध्यक्ष डा. भट्टले सरकारसामू स्रोत परिचालनको दबाब रहेकाले यसले बजेटको आकारमा समेत सन्तुलन खोजेको संकेत गरेका छन् ।
खासगरी, अन्तर्राष्ट्रिय कारणले सिर्जना गराएको इन्धन संकट र यसबाट पूँजीगत बजेटको खर्च क्षमतामा आएको ह्रास तथा राजस्व संकलनमा देखिएको संकुचनले गर्दा सरकारलाई स्रोत परिचालनको दबाब रहेको उनको भनाइ छ । यसका साथै, तलब भत्ता, सामाजिक सुरक्षा र सार्वजनिक ऋणको अनिवार्य दायित्व समेत बढ्दो क्रममा रहेको डा. भट्ट बताउँछन् । उनका अनुसार सामाजिक सुरक्षा र सार्वजनिक ऋणको साँवा ब्याज भूक्तानीका लागि मात्रै कुल बजेटको एकतिहाई बजेट विनियोजन गर्नुपर्ने अवस्था छ ।
अर्थ मन्त्रालयका सह–सचिव टंकप्रसाद पाण्डेयले पनि आगामी आर्थिक वर्षका लागि आउने बजेटको आकार ठूलो नहुने प्रष्टसँग बोलेका छन् । खासगरी, पूँजीगत बजेट खर्च नहुने स्थिति रहेकोतर्फ संकेत गर्दै उनले बजेटको सिलिङ बढाउँदैमा खर्च नबढ्ने भएकाले आकार नबढाइने उनको भनाइ छ ।
अर्थमन्त्री डा. वाग्लेको पदभार ग्रहणकै क्रममा १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित कानुनहरू खारेज गर्ने निर्णय गरिएको बताउँदै उनले अहिले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सोही अनुसारको कार्यप्रक्रिया अघि बढाइएको पनि बताएका छन् ।
कति लेखियो बजेट ?
अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले बजेट तथा कार्यक्रम महाशाखाका कर्मचारीहरु बजेट लेखनमा केन्द्रित भएका छन् । हरेक दिन बिहान ८ः३० बजेदेखि नै कर्मचारीहरु साँझसम्म खटिएका छन् । सम्भव भएसम्म अर्थमन्त्री डा. वाग्लेले हरेक दिन बिहान ‘अपडेट’ लिने गरेका छन् । सोही क्रममा आवश्यक निर्देशन पनि दिने गरेका छन् ।
अर्थसचिव डा. घनश्याम उपाध्याय र राजस्वसचिव भूपाल बरालसँग कर्मचारीहरुले बिहान बेलुकै परामर्श गर्ने गरेको अर्थका अधिकारीहरु बताउँछन् । बजेट लेखनको नेतृत्व राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले गरिरहेका छन् । विभिन्न महाशाखाका प्रमुखहरु खत्रीको टिममा छन् । अहिले सैद्धान्तिक विषयहरुको लेखन प्रक्रिया करिब करिब सकिएको छ ।
मन्त्रालयगत आयोजना र कार्यक्रमहरु लेख्ने काम सुरु भएको अर्थका अधिकारीहरु बताउँछन् । अर्थले बैशाख १५ गतेबाट अन्य मन्त्रालयहरूसँगको बजेट कार्यक्रम र शीर्षकगत छलफल पनि सकेको छ । साथै, बैशाख महिनाभरी मन्त्रालयगत रुपमा बजेटमाथिका छलफलसमेत बजेटमा समेटिसक्ने तयारीमा मन्त्रालय छ ।
अब अर्थमन्त्री डा. वाग्लेले संसदको अर्थ समितिमा बजेट लेखनको प्रगतिबारे जानकारी गराउनेछन् । अर्थ समितिको बैठकले यसबारे छलफल गर्न अर्थमन्त्रीलाई बोलाउने निर्णय गरिसकेको छ ।
सरकारले १० वर्षसम्म कर र कर नीतिलाई स्थिर राख्ने भन्दै राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गरेकाले यसवर्ष करका दरहरुमा खासै फेरबदल नहुने आम बुझाई छ । बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते राती अर्थमन्त्रीले करका दरहरुलाई अन्तिम रुप दिनेछन् ।
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थ मन्त्रालयलाई १८ खर्ब ९० अर्बको बजेट सिलिङ दिएको छ । चालु आर्थिक वर्षका लागि गत जेठ १५ मा सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो ।













