Saturday, July 11, 2026
spot_img

IT Audit गर्नुपर्ने भएपछि ब्रोकरमा हलचल, TMS को ‘कमजोरी लुकाउन’ ब्यापक चलखेल

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि विभिन्न प्रकारका चलखेल हुन थालेको खुलासा भएको छ । नेप्सेको लागि कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) विकास गरेको भेन्डर कम्पनी वाईको प्रा.लि.ले चलखेल गरेको बताइएको छ।

यसअघि नेप्सेले २०८० सालमा आफ्नो अडिट गराउँदा अडिटरले वाईकोले निर्माण गरेको टिएमएस प्रणालीमा विभिन्न कैफियत देखिएको र अनेक कमजोरी रहेको भन्दै सुधारको लागि सुझाव दिएको थियो । त्यस समयको अडिटमा वाईकोको सिस्टममा एकै आईडी दुई ठाउँबाट लग–इन हुन सक्ने देखिएको, वाईकोले चाहेमा कुनै निश्चित ब्रोकरको टीएमएस कुनै निश्चित समयको लागि डाउन गर्न सक्ने देखिएको, मेकर–चेकर कन्सेप्टको पालना नभएको लगायतका  कैफियत देखाइदिएको थियो । अहिले ब्रोकरहरुको आईटी अडिट गर्दा त्यस समयमा देखिएको भन्दा अझै धेरै कमजोरी देखिन सक्ने भएकोले आईटी अडिटको जिम्मा कसलाई दिने भन्नेबारे ब्यापक चलखेल भइरहेको स्रोतको दाबी छ।

वाईकोले सबै ब्रोकरको अडिटको जिम्मा एकै कम्पनीलाई दिनुपर्ने भन्दै ब्रोकर एसोसिएसनलाई नै दबाब दिएको पाइएको छ। नेप्सेका अनुसार हाल ९२ वटा ब्रोकर कम्पनी रहेकोमा ७२ वटा ब्रोकरले वाईकोको सिस्टम प्रयोग गर्दै आएका छन् । ब्रोकर नम्बर ५८ को आफ्नै टिएमएस प्रणाली रहेको छ भने १३ वटा ब्रोकरले एट्राडको सिस्टम प्रयोग गर्दै आएका छन् । बाँकी ६ वटाले भने  एट्राडमा सिफ्ट हुने तयारी गरिरहेकोले परिक्षणकाल अवधिभरको लागि एट्राड र वाईको दुवैको सिस्टम आवश्यकता अनुसार चलाइरहेका छन् ।

अर्थात् कुल ९२ मध्ये झन्डै ८० प्रतिशत ब्रोकरले वाईकोको सिस्टम प्रयोग गर्दै आएका छन् । वाईकोको सिस्टममा यसअघि पनि विभिन्न कमजोरी देखिएका विषय सार्वजनिक रुपमा नै विभिन्न सञ्चारमाध्यममा समेत आएका थिए । अहिले पनि ति ७२ ब्रोकर कम्पनीको अडिट छुट्टाछुट्टै अडिटरलाई गर्न दिइएमा ७२ अडिटरले आ–आफ्नो राय लेख्ने र सिस्टमको कमजोरी बाहिर आउने सम्भावना रहेको भन्दै वाईकोले नै एकै कम्पनीलाई अडिटको जिम्मा दिनुपर्ने भन्दै आफैँ अघि सरेको स्रोतको दाबी छ।

यसो हुँदा वाईकोले एक जना अडिटरसँग मात्र ‘डिल’ गरे हुने भएकोले उसले चलखेल गरिरहेको स्रोत बताउँछ । उक्त स्रोतका अनुसार एकल अडिटर हुँदा कम्पनीले अडिटरलाई कस्तो राय लेख्ने भन्ने विषयमा उसैलाई मात्रै दबाब दिएर चाहेजस्तो प्रतिवेदन बनाउन सकिने बुझाई रहेको छ ।

त्यसकै लागि ब्रोकर संघ समेत प्रयोग भएको देखिएको छ । ब्रोकर संघले सबै ब्रोकरलाई एउटै भेण्डर कम्पनीमार्फत अडिट गराउने पहल गरिरहेको हुनाले सो विषयमा अन्तिम निर्णय नहुँदासम्म आइटी अडिटर नियुक्त नगर्न भनेको छ ।  ब्रोकरहरुलाई संघले पठाएको सन्देश बिजनेशपानाले फेला पारेको छ । जसमा भनिएको छ ‘सबै सदस्य माहनुभावहरुलाई नमस्कार । आइटी अडिट सम्बन्धमा स्टक ब्रोकोर्स एसोसिएसनले एउटै भेण्डर कम्पनी मार्फत अडिट गराउने पहल गरिरहेको हुनाले सो विषयमा अन्तिम निर्णय नहुँदासम्म आइटी अडिटर नियुक्ति नर्गनु हुन सम्पुर्ण सदस्यहरुमहानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’

कतिपय ब्रोकर कम्पनीले आईटी अडिटको लागि आफ्नो सञ्चालक समितिबाट अडिटर नियुक्तिको निर्णय गरिसकेका छन् । तर, ब्रोकर संघबाट होल्ड गर्ने सन्देश आएपछि बोर्डबाट निर्णय गरेपनि उनीहरुले अडिटरसँग सम्झौता गरिसकेका छैनन् । यसरी अडिटर नियुक्ति प्रक्रिया अघि बढाएर बोर्डबाट निर्णय गराउनेमा वाणिज्य बैंकका सहायक कम्पनीको रुपमा स्थापित ब्रोकरहरु पनि छन्, जो आफ्नो बैंक जस्तै संस्थागत सुशासन तथा अनुपालनामा अरुको तुलनामा अब्बल छन् ।

नेप्सेले ब्रोकरको आईटी अडिटको लागि ९३ वटा चेकलिस्ट तयार पारेको छ। सबै चेकलिस्ट अनुसार कार्य गर्ने हो भने डेढ देखि २ लाख भन्दा कममा अडिट गर्न नसकिने एक अडिटर बताउँछन् । तर अहिले ब्रोकरहरुले भने ७० देखि ८० हजारमै अडिटको लागि प्रस्ताव गरेको उनको भनाई छ । तर, शुल्क कम हुँदा अडिटको गुणस्तर खस्कने ति अडिटर बताउँछन् ।

अर्को एक स्रोतका अनुसार कतिपय ब्रोकर र अडिटरलाई अडिटको शुल्क वाईकोले नै बेहोर्ने प्रस्ताव समेत गएको छ । तर त्यसको लागि प्रतिवेदन भने वाईकोले नै भने अनुसार आउनुपर्ने शर्त समेत अघि सारिएको स्रोतको दाबी छ । पारदर्शी रुपमा अडिट हुँदा वाईकोको कमजोरी खुल्ने र हाल वाईकोको सिस्टम प्रयोग गर्ने ब्रोकर संख्या ७२ बाट पनि घटेर व्यवसाय गुम्ने डर वाईकोमा देखिएको हुनसक्ने स्रोतको बुझाई छ ।

यी सबै विषयमा नेप्से पनि जानकार रहेको स्रोत बताउँछ । तर, नेप्सेले भने कार्यविधि बनाईसकेको, कार्यविधिमा समयसीमा पनि तोकिएको, अडिटरको मापदण्ड पनि तोकिएकोले कार्यविधिमा उल्लेखित व्यवस्था पालना गरेर अडिट गर्न ब्रोकर कम्पनी स्वतन्त्र रहेको बताएको छ । नेप्से स्रोत भन्छ ‘कुन ब्रोकरको अडिट कसले गर्ने भन्ने नेप्सेले भन्न मिल्दैन, कार्यविधिमा भएका व्यवस्थाको पूर्णपालना हुने गरि तोकिएकै समयमा प्रतिवेदन आउनु पर्छ ।’

तर एकै कम्पनीलाई अडिटको जिम्मा दिँदा समयमा रिपोर्ट आउँन कठिन हुने र रिपोर्टको गुणस्तर पनि कमजोर हुने आईटी अडिटमा संलग्न जानकारहरु बताउँछन् ।

ब्रोकरहरुकै सहजताको लागि एकै भेण्डर खोजेका हौँः महासचिव घिमिरे 

ब्रोकर संघका महासचिव भक्तिराम घिमिरेले भने आईटी अडिटको विषय ब्रोकरहरुको लागि नयाँ भएकोले सबै सदस्यको हितको लागि संघले सहजीकरण गर्न खोजेको बताएका छन् । प्रतिवेदनमा एउटै स्ट्यान्डर्ड होस्, ब्रोकर सदस्यलाई सस्तो होस् भन्ने हेतुले प्रयास गरिएको उनको भनाइ छ । उनले बजारमा रहेका आईटी अडिट गर्ने ४/५ वटा कम्पनीहरुसँग कतिमा अडिट गर्न सक्छन् भनेर प्रस्ताव माग गरेको र धेरै वटा कम्पनीको अडिट एकै ठाउँमा गर्दा शुल्क कम हुनुपर्ने भन्दै बार्गेनिङ गरिरहेको उल्लेख गरेका छन् ।

तोकिएको समयमा सबै काम गर्न सक्छु भनेर सम्झौता गरेपछि अडिटरले सोहि अनुसार काम गर्न सक्नुपर्ने उनी बताउँछन् । नेप्सेले दिएकै सिस्टम भएकोले आईटीमा कुनै ठूलो विषय केही नहुने र यसलाई हाउगुजी बनाईएको उनले दाबी गरे । आईटी अडिट नै आवश्यक नपर्ने उनको तर्क छ ।

उनले २/४ दिनमै कसलाई अडिट गर्न दिने भन्ने टुंगो लाग्ने बताए । यसबारे वाईकोसँग भने आफूले कुनै कुराकानी नै नगरेको उनको दाबी छ । महासचिव घिमिरेले कुनै ब्रोकर कम्पनीले सस्तोमा अडिटर भेटमा उनीहरुले त्यतै अडिट गराउन सक्ने र आफू पनि त्यतै जाने बताए ।

धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ (चौथो संशोधन, २०८१) को विनियम २१८ मा “कारोबार सदस्यले आफुले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी प्रणाली नेप्सेले निर्धारण गरेको मापदण्ड बमोजिम भए वा नभएको सम्बन्धमा कम्तीमा दुई वर्षमा सम्परीक्षण गराई सोको प्रतिवेदन नेप्से तथा बोर्डमा पेश गर्नु पर्नेछ” भन्ने व्यवस्था छ ।

सोहि व्यवस्था बमोजिम नेप्सेले ‘IT Audit Guidelines for Trading Members’ तयार गरी २०८२ माघ १२ गतेदेखि लागु गरेको हो । यससँगै अब सम्पूर्ण ब्रोकरहरुले आफूले प्रयोगमा ल्याएको सूचना प्रविधि प्रणालीको सम्परीक्षण गराउनु पर्नेछ । नेप्सेले कार्यविधि लागू भएको ६ महिना भित्रमा अडिट सम्पन्न गराएर नेप्सेमा प्रतिवेदन पेश गर्नुपर्छ । अर्थात् ब्रोकरहरुले साउन १२ गते भित्र आफूले प्रयोग गर्ने प्रणालीको अडिट सम्पन्न गराएर नेप्सेमा प्रतिवेदन पेश गर्नु पर्नेछ।

यस अघि : पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img