Monday, July 13, 2026
spot_img

बैंक र महालेखाको जागिर छोडेर व्यवसायमा आएका बटु: गलैँचाबाट सुरु, बनाए दर्जनौँ हाइड्रो

spot_img

नेपालको जलविद्युत विकासमा सम्झिनैपर्ने केही नामहरुको सूचीमध्ये अग्र पङ्तिमा आउने नाम हो ‘बटु लामिछाने’ । लामिछाने कुनै सम्भ्रान्त परिवारमा जन्मिएका होइनन् । सामान्य परिवारमै जन्मिएर अहिले जलविद्युतको विकासमा जमेका एक निर्भिक पात्र हुन् ।

काठमाडौँमै जन्मिएपनि अहिलेको जस्तो स्थिति थिएन । उनका बुबा र हजुरबुबा नै कर्मचारी थिए । त्यसैले पढेर जागिर खानुपर्छ र त्यसबाट हुने आम्दानीले आफ्नो दैनिकी चलाउनुपर्छ भन्ने त्यतिबेलाको सामाजिक चिन्तन उनको परिवारमा पनि नहुने कुरै भएन ।

वाणिज्य र बजारशास्त्रमा स्नातक गरेका उनले बिजनेशमै स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनले लोकसेवा पास गरेर केही वर्ष महालेखामा जागिर पनि गरे । त्यसपछि बैंकमा करियर खोज्न थाले । २०३८ सालमा वाणिज्य बैंकमा प्रवेश गरेका उनी २०४२ सालमै जागिर छोडेर निस्किए ।

अनि व्यवसायिक यात्राको आरम्भ
‘बैंकमा काम गर्दै जाँदा व्यवसाय गर्नुपर्ने रहेछ भन्ने सोच आउन थाल्यो । त्यहीँ भएर मैले ४ वर्ष जागिर गरेर बैंक छोडेँ’ बटु स्मरण गर्छन्, ‘त्यसपछि २०४२ सालमा मैले गलैँचा र धागोको व्यवसाय सुरु गरेँ ।’

काम गर्दै जाँदा २०४७ सालमा उनले कारखाना स्थापना गरे । काठमाडौँको धुम्बाराहीमा ‘सिद्धी विनायक उल कार्डिङ उद्योग’ भनेर उनले उत्पादन सुरु गरे । त्यसका लागि न्युजिल्याण्डबाट ऊन आयात गर्थे, टिबेटबाट आयात भएको ऊन पनि खरिद गर्थे ।

कामकै शिलशिलामा उनले कार्पेटको निर्यात गर्ने प्रक्रिया पनि बुझ्न थाले । नभन्दै ब्लुबर्ड बिल्डिङ लाजिम्पाटबाट उत्पादन गरिएका कार्पेट २०५० सालबाट विदेशमा समेत जान थाले ।

काम गर्दै जाँदा उनीसँग विभिन्न क्षेत्रका साथीहरु जोडिए । अन्नतः उनले कन्स्ट्रक्शन क्षेत्रमा पनि हात हाले । ‘युनिभर्सल कोइ’बाट चल्तीका प्रोजेक्टहरु बनाउने कामको नेतृत्व गरे । काठमाडौँ प्लाजा, बोटलर्स नेपाल जस्ता परियोजना यहीँ कम्पनीमार्फत बनेका हुन् ।

लामिछानेका अनुसार त्रिभुवन विश्वविद्यालयका पुस्तकालय, एकेडेमिक बिल्डिङ, परीक्षा नियन्त्रण कार्यालय र साइन्स कलस्टर पनि उनकै कम्पनीले चिनियाँ जेभीसँग मिलेर सम्पन्न गरेको हो । यत्तिको काम गरेपछि अब जलविद्युत परियोजना पनि बनाउन सकिन्छ भन्ने हिम्मत आएको उनी स्मरण गर्छन् ।

‘कन्स्ट्रक्शनको काम गरेपछि हाइड्रोपावर गर्न सक्ने हिम्मत आएको हो’ उनी भन्छन्, ‘यसपछि इन्द्रावती परियोजना बनाउने विषयमा हामीले छलफल पनि ग¥यौँ । तर, काम चाहिँ गर्न पाएनौँ । तैपनि जलविद्युत प्रोजेक्ट गर्नुपर्छ भन्ने चाहिँ लागिरह्यो ।’

त्यसपछि लगातार जलविद्युत आयोजनामै सक्रिय
बटु लामिछानेले प्रोजेक्ट डाइरेक्टरका रुपमा चाकुखोला आयोजनाको निर्माण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेले । १ मेगावाटको यो आयोजना पछि १.५ मेगावाटको बन्यो । यो नै उनले प्रत्यक्ष संलग्न भएर बनाएको पहिलो आयोजना थियो । त्यसपछि थोपल खोला आयोजना पनि १ मेगावाटको थियो, पछि १.६ मेगावाटको बन्यो ।

यसरी काम गर्ने शिलशिलामा बटुको भेट गणेश कार्कीसँग भयो । अनि उनीहरुले मिलेर क्वीनकाङ अलवनवार्ड हाइड्रो इक्वीपमेन्ट कम्पनी स्थापना गरे । यो कम्पनीमार्फत बटु र गणेशले ४० वटा प्रोजेक्टमा इक्वीपमेन्ट सप्लाई गरे । बटु र गणेशले कामकै शिलशिलामा ‘ग्रुप अफ कम्पनीज्’को मोडलमा जाने निधो गरे । अनि जन्मियो ‘बीजी ग्रुप’ ।

त्यसकै शिलशिलामा उनीहरुले वैभव पावर नेपाल स्थापना गरे । उनीहरुले ५ मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गर्ने सोच बनाए । जसमा बटु लामिछोन, गणेश कार्की, सैलेन्द्र गुरागाई र डा. भोगेन्द्र गुरागाईं जोडिए ।
त्यसपछि क्रिन हाइडल कम्पनीको मेजर सेयर पनि खरिद गरे । ३ मेगावाटको युनियन हाइडल, १ मेगावाटको सभा खोला, १.५ मेगावाटको चाकु ए, १.८ मेगावाटको चाकु बी र १.८ मेगावाटकै चाकु सी आयोजना पनि उनीहरुले सम्पन्न गरे ।
सिंगटी, शीवश्री, बेनी र खानी खोलाका २ वटा प्रोजेक्ट पनि सम्पन्न भइसकेका छन् । पिपुल्स हाइड्रो अन्तर्गतको ५४ मेगावाट क्षमताको सुपरदोर्दी आयोजना पनि सम्पन्न भइसकेको छ । यसरी बटु लामिछाने लगातार जलविद्युत परियोजनाको विकासमा केन्द्रित भए ।

४०० मेगावाटसम्म बनाउन सक्ने आत्मविश्वास
अहिले बीजी ग्रुप अन्तर्गत निर्माण सम्पन्न भएका र निर्माणाधिन गरेर ५०० मेगावाट भन्दा बढी क्षमताका आयोजना छन् । केही आयोजनाहरु चाँडै सम्पन्न हुने चरणमा पनि छन् ।

‘अहिले सम्मको हाम्रो अनुभवले यो ग्रुपमार्फत हामीले ४०० मेगावाट सम्मका आयोजना सजिलै बनाउन सक्ने आत्मविश्वास आर्जन गरेका छौँ’ बटु भन्छन्, ‘१ मेगावाटको आयोजना बनाएर सुरु गरिएको यात्राले नै अहिले यत्तिको आत्मविश्वासी बनाएको हो ।’

नेपालको अपार जलशक्तिलाई उपयोग गर्ने सरकारी नीति हुनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउने हो भने आफ्नो ग्रुपले नै ४०० मेगावाट सम्मका आयोजना बनाएर बिजुली उत्पादन गर्न सक्ने सामर्थ्य राख्ने उनी बताउँछन् ।

पर्यटन, आईटी र उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै
बीजी ग्रुपले अहिले लगानी विविधिकरण गर्दैछ । पर्यटन, सूचना प्रविधि, कृषि र निर्यात एवम् उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना आफूहरुले बनाएको बटुको भनाइ छ । उनका अनुसार घान्द्रुकमा होटल निर्माण भइसकेको छ । काठमाडौँ, चितवन र भैरहवामा पनि होटल परियोजनाको योजना बन्दैछ ।

आईटी क्षेत्रमा पनि सम्भावना धेरै रहेकाले यस क्षेत्रमा प्रवेश गर्ने योजना पनि बनिरहेको बटु लामिछाने बताउँछन् । यसका साथै, उत्पादनमूलक र निर्यातमूलक उद्योगको सम्भावनाबारे पनि अहिले ग्रुपले अध्ययन गरिरहेको छ ।

नेपालको आर्थिक उन्नतिमा कृषिलाई छुटाउनै नहुने उनको धारणा छ । अहिले बीजी ग्रुपले पनि कृषिमा लगानी विस्तार गर्ने योजना बनाइरहेको उनको भनाइ छ ।

‘मैले २०४२ सालदेखि आजसम्म जे जति सकेँ, यो देशमा योगदान गरेँ । अब युवा पुस्तालाई आफ्ना अनुभव सेयर गर्दै जलविद्युतसहित कृषि, पर्यटन, सूचना प्रविधि लगायतका अपार सम्भावना भएका क्षेत्रमा आकर्षित गर्ने मेरो योजना छ’ लामिछाने भन्छन्, ‘अहिलेको पढेलेखेको, देश विदेश बुझेको युवाशक्तिले यो देशको जल, जमिन र जंगल सबैतिर सम्भावना देख्नुपर्छ ।’

spot_img

1 COMMENT

  1. बटुको भविष्य उज्जल छ । साधारण स्कूलका बालसखाको उत्तरोत्तर प्रगतीको कामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...
spot_img