नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकता बलियो भएको सन्देश जाने बताएका हुन् ।
निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने उनको भनाइ छ । नयाँ बन्ने सरकारसँग निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि पनि महासंघमा सहमतिबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने बताए ।
साथै, आफूले समेत सहमतिको प्रयत्न गर्ने बताउँदै उनले पूर्व अध्यक्षहरुले सुरु गरेको प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन् ।












