शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । म्याद थप भएसंगै स्थानीयले फागुन ८ गतेसम्म आवेदन दिन सक्ने छन् । यद्यपि सो मिति अगावै माग भन्दा बढीको आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने कम्पनीले जनाएको छ।
कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित बाग्लुंग जिल्लाका स्थानीय स्थानीयलाई ९ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको छ। जसमा आयोजना प्रभावित बडिगाड गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १०, र प्रसारणलाइन प्रभावित ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले मात्र आवेदन दिन सक्ने छन् । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। स्थानीयको शेयर बाँडफाँड भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ।
यस कम्पनी अध्यक्ष नारायण प्रसाद उपाध्याय हुन् भने अन्य संचालकमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे रहेका छन् ।









