सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस २२ गतेदेखि आयोजना प्रभावित लमजुङका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले लमजुङका स्थानीयलाई १५ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ६ लाख २० हजार कित्ता र बाँकि ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नम्बर १,४,५,६,७,८, र ९ नम्बर वडाका स्थानीयलाई निष्काशन गरिएको छ । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने छ।
यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ। यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् ।









