नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभाको मिति नजिकिएसँगै अध्यक्षका दाबेदारहरु खुल्न थालेका छन् । महासंघको २६औँ साधारणसभा एवं निर्वाचन माघ १५, १६ र १७ गते प्रज्ञा भवनमा आयोजना गर्दैछ । यसका लागि अध्यक्षका प्रत्याशीहरु खुल्न थालेका हुन् ।
३२ हजार निर्माण व्यवसायीहरु सदस्य रहेको यस महासंघको भावी अध्यक्षमा अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् । वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल र गत निर्वाचनमा अध्यक्षमा पराजित भएका निकोलश पाण्डेले अध्यक्षमा दाबी गरेका छन् ।
लामाले आफू वर्तमान कार्यसमितिमा अरु प्रत्याशीभन्दा सिनियर भएको र अहिले वरिष्ठ उपाध्यक्ष रहेकाले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहेको बताएका छन् । दाहालले पनि आफू ३० वर्षदेखि निर्माण व्यवसायीको हकहितका लागि संगठित भएको र महासंघमा सदस्यदेखि कोषाध्यक्ष र दुइ कार्यकाल महासचिव हुँदै कार्यकारी पदको सफलतापूर्वक जिम्मेवारी सम्हालेका कारण अब अध्यक्षमा स्वभाविक रुपमा आफ्नो दाबेदारी रहने बताएका छन् ।
अर्का प्रत्याशी पाण्डेले भने गत निर्वाचनमा आफू युवाहरुको प्रतिनिधित्व गर्दै अध्यक्षमा उठेपनि पराजित भएको र यसवर्ष पनि आफ्नो दाबेदारी रहने बताउँदै आएका छन् । कार्यसमितिमा रहेका लामा र कार्यकारी भूमीका (महासचिव)मा रहेका दाहाल महासंघको साधारसभाको तयारी, प्रतिनिधि छनोट र सदस्यता रुजु लगायतका काममा व्यस्त हुँदा पाण्डे भने देश दौडाहा गरिरहेका छन् ।
सहमतिको प्रयासमा पूर्व अध्यक्षहरु
निर्वाचन आउन ३५ दिन हाराहारी समय बाँकी रहेका कारण सहमतिको प्रयास पनि सँगसँगै अघि बढाइएको महासंघ स्रोत बताउँछ । अहिले पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष रवि सिंह सहमतिको प्रयासमा लागिरहेको स्रोत बताउँछ ।
‘अहिले निर्माण व्यवसाय संकटमा छ । सार्वजनिक खरिद ऐन र नियमावलीमा भएका कतिपय प्रावधानले व्यवसाय गर्न सकिने अवस्था छैन’ महासंघका एक पदाधिकारीले भने, ‘अहिले बनेको अन्तरिम सरकारले भटाभट ठेक्का तोडेर हामीमाथि एक खालको बज्रपात नै हानिरहेको छ । यस्तो बेलामा चुनावी प्रतिस्पर्धाबाट नभई सहमतिबाट अघि बढ्नुपर्ने आवश्यकता छ ।’
ति पदाधिकारीका अनुसार सरकारलाई आफ्ना कुरा बुझाउन सक्ने, नीतिगत बहसमा सानादेखि ठूला सबै निर्माण व्यवसायीको आवाज बोल्न सक्ने नेतृत्व अहिले चाहिएको छ । ‘अहिले ज–जसले अध्यक्षमा दाबी गरिरहनु भएको छ, उहाँहरु सबै योग्य हुनुहुन्छ’ उनले थपे, ‘कार्यसमितिमा लामो समय बसेर काम गरेर खारिएका साथीहरु हुनुहन्छ । उहाँहरुले अहिलेको अवस्था नबुझ्ने भन्ने हुँदैन । सहमतिमै नयाँ नेतृत्व चयन हुन्छ भन्नेमा हामी विश्वस्त पनि छौँ ।’












