मंसिरमा घरजग्गा कारोबार बढेको छ । भूमी व्यवस्था तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा देशभरका मालपोत कार्यालय तथा भूमी सुधार एवम् मालपोत कार्यालयहरुबाट ५१ हजार ६३२ लिखत पारित भएका छन् । यसबाट सरकारले ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार रुपैयाँ राजस्वसमेत प्राप्त गरेको छ ।
गत वर्षको मंसिर महिनाको तुलनामा यस वर्षको मंसिरमा लिखत पारित करिब ८ हजारले बढेको हो । गत मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट जम्मा ४३ हजार ३७९ लिखत पारित भएका थिए । जसबाट सरकारले ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार राजस्व पाएको थियो ।
गत वर्षको मंसिरको तुलनामा यस वर्षको मंसिरमा करिब ९७ करोड बढी राजस्व संकलन भएको छ ।
साथै, कार्तिक महिनाको तुलनामा पनि मंसिरमा लिखत पारित झण्डै २३ हजार बढी लिखत पारित भएको छ । कार्तिकमा जम्मा २८ हजार ३८३ लिखत पारित हुँदा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार राजस्व उठेको थियो ।
मंसिरमा किन बढ्यो कारोबार ?
घरजग्गा व्यवसाय सुस्ताएको ३ वर्ष भन्दा बढी भइसक्यो । कित्ताकाट रोकिने, खुल्दा पनि सहज रुपमा नखुल्ने लगायतका समस्याले घरजग्गा कारोबार सुस्ताएको थियो । स्थानीय तहहरुले समयमै जग्गाको वर्गीकरण नगरिदिँदा पनि कारोबार शिथिल बनेको थियो । भूउपयोग नियमावली जारी भएको तीन वर्ष हुँदासम्म ७५३ स्थानीय तहमध्ये २५३ स्थानीय तहले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका थिए । ५ सय स्थानीय तहले जग्गाको वर्गीकरण नै गर्न सकेका थिएनन् । त्यसकारण साउनदेखी त्यस्ता ५ सय स्थानीय तहमा कित्ताकाट रोकिएको थियो ।
तर, सरकारले कार्तिक २४ गते कित्ताकाट खुलाउने निर्णय गरेसँगै घरजग्गा कारोबार पनि बढ्न थालेको हो । कार्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन २०८२) स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो ।
घरजग्गा व्यवसायी हामिद खानाले पनि कित्ताकाट खुलेसँगै कारोबार केही बढ्न खोजेको तर, अझै पनि खरिदकर्ता र व्यवसायीमा ‘कन्फिडेन्स’ भने आइनसकेको बताए । उनका अनुसार मंसिर लागेसँगै घरजग्गा कारोबारको सिजन पनि सुरु हुने भएकाले असोज र कार्तिकको तुलनमा मंसिर महिनामा अघिल्ला वर्षहरुमा पनि घरजग्गा कारोबार बढी नै हुने गर्दछ ।
‘मंसिर लागेपछि घरजग्गा कारोबारको सिजन पनि सुरु हुन्छ, कित्ताकाट खुलेको कारणले पनि केही कारोबार बढाउन मद्दत गरेको छ’ उनले भने, ‘तर, नीतिगत रुपमा ठूलो चेन्ज केही पनि आएको छैन । आझै पनि व्यवसायी र खरिदकर्ता दूबैको कन्फिडेन्स बढिसकेको छैन ।’
अर्का व्यवसायी इश्वर खरेलले भने मुख्य दुइ कारण औल्याएका छन् । पहिलो हिउँद महिना सुरु भएकाले जताततै खाली हुने र जग्गा राम्रोसँग हेर्न सकिने भएकाले कारोबार बढ्यो । दोस्रोः घरजग्गा कारोबार गर्न लाइसेन्स चाहिने र पौषबाट ५ लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाउने भन्ने प्रावधान ।
उनका अनुसार अन्यत्र लगानी गर्ने अवस्था नभएकाले अहिले घरजग्गामै लगानी बढ्न थालेको छ । ‘जमिन’लाई नै सुरक्षित लगानीका रुपमा हेर्न थालिएको उनको बुझाई छ ।
अर्को कुरा, भविष्यमा आउन सक्ने झन्झटलाई हेरेर पनि अहिले नै घरजग्गा किन्नेहरु बढेका छन् । स्रोत देखाउनुपर्ने, ५ लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने, चेकबाट गर्नुपर्ने र लाइसेन्स लिएको ब्रोकरमार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने भन्ने प्रावधानले असजिलो हुन्छ कि भन्ने ठानेर ‘अहिले नै जमिन जोडेर राखौँ’ भन्नेहरु बढेको खरेलको बुझाई छ ।
‘यी हाउगुजी चलिरहेका बेला जग्गाको भाउ पनि सस्तो छ । अहिले आफूसँग भएको पैसामा यसो सरसापटी गरेर थपथाप गरेर जग्गा किनेर राख्ने क्रम बढेको छ’ उनी भन्छन्, ‘अहिले किनेर राख्दा सुरक्षित पनि हुने र झन्झट पनि नपर्ने भएकाले घरजग्गाको किनबेच बढेको हो भन्ने मेरो बुझाई छ ।’












