नेशनल बायोटेक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मङ्सिर ५ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने समबन्धि विशेष प्रस्ताव पेश हुन लागेको हो।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने , साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग , कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने , र कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन्।
कम्पनीले यस अघि नै आईपीओ निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई परामर्शदाता नियुक्त गरिसकेको छ। पहिले प्रालि रहेको यो कम्पनी पछि पब्लिकमा परिणत भएको हो ।
यो कम्पनी नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक जैविक मल उत्पादक कम्पनी हो । कम्पनीले जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीले चिनियाँ प्रविधिमा मल उत्पादन गर्दै आएको छ, जुन नेपाल सरकारबाट समेत प्रमाणित भईसकेको छ ।









