नेपाल धितोपत्र बोर्डले शेयरबजारमा अहिले अभ्यासमा रहेको अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्य अर्थात अन्तिम मूल्य (Closing Price) गणना विधि तत्कालको स्थगन गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको आज शनिवार बसेको संचालक समितिको बैठकले तत्कालको लागि सो विधि स्थगन गर्ने निर्णय गरेको हो।
लगानीकर्ताहरुले ब्यापक दबाब दिएपछि बोर्ड सो नियम स्थगन गर्ने निर्णयमा पुग्न पुग्न बाध्य भएको हो। बोर्डले नेप्सेलाई सोहि अनुसार गर्नको लागि आज नै निर्देशन दिईसकेको छ।
यस अघि बिहिबार साँझ बसेको नेप्सेको संचालक समितिको बैठकले सो विधिबारे धितोपत्र बोर्डको निर्देशन माग गर्ने निर्णय गरेको थियो। सोहि अनुसार बोर्डले यसबारे निर्णय गर्न आज संचालक समितिको बैठक डाकेको थियो। आज पनि शेयर लगानीकर्ताहरु यो विधि स्थगनको लागि दबाब दिन बोर्ड पुगेका थिए। दबाब थेग्न नसकेपछि बोर्डले यो विधि स्थगनको निर्णय गरेर नेप्सेलाई कार्यान्वयनको लागि निर्देशन दिएको हो।
तर असोज ५ गते आइतबार कै कारोबारमा भने यो लागु हुने छैन । नेप्से उच्च स्रोतका अनुसार गणना विधि परिवर्तन गर्नु पर्ने भएपछि कारोबार प्रणालीमा प्रविधि विषयहरु मिलान गर्नु पर्ने छ। ति विषय मिलान गरेपछि एक पटक परिक्षण पनि गर्नु पर्ने छ। त्यस कारण आइतबारको कारोबारमा भने १५ मिनेटको भारित औषत मूल्य निर्धारण विधि कायम नै रहने छ। दोस्रो कार्यदिनको कारोबारबाट भने यो नियम हट्ने छ। असोज ६ गते घटस्थापनाको सार्वजनिक विदा परेकोले सो दिन शेयर कारोबार हुने छैन । यसको अर्थ असोज ७ गते मंगलबारको कारोबारदेखि मात्र अन्तिम १५ मिनेटको नियम स्थगन गर्ने निर्णय कार्यान्वयनमा आउने नेप्से स्रोतले जनाएको छ।
नेप्सेले सम्भव भएमा आज शनिवार नै, वा आज सम्भव नभए भोलि बिहान बजार खुल्नु अघि यसबारे सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ को व्यवस्था अनुसार गत चैत्र ७ गतेदेखि शेयरको अन्तिम मूल्य गणनामा यो विधि प्रयोग गर्दै आएको थियो। शेयर लगानीकर्ताहरुले भने बजार घट्नुको एउटा कारण मध्ये यो नियमलाई अर्थ्याएका थिए। यसलाई लगानीकर्ताले १५ मिनेटवाला नियम भन्दै आएका छन् ।
गत बिहीबार शेयरबजार १६० अंकले घटेर तेस्रो सर्किट लाग्दै पुरै दिनको लागि कारोबार बन्द भएपछि यो व्यवस्था हटाउन माग गर्दै शेयर लगानीकर्ता धितोपत्र बोर्ड पुगेका थिए। तर त्यस समय धितोपत्र बोर्ड अध्यक्ष अर्थ मन्त्रालयमा थिए। बोर्ड अध्यक्षलाई नभेटेपछि लगानीकर्ताहरु बोर्ड मै धर्नामा बसेका थिए। पछि टेलिफोन संवाद मार्फत बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले यो व्यवस्था तत्काल हट्ने आश्वासन दिएपछि लगानीकर्ता बोर्डबाट फर्किएका थिए।
लगत्तै बोर्ड अध्यक्ष श्रेष्ठले नेप्सेलाई यस विषयमा निर्णय गरेर बोर्डमा प्रस्ताव गर्न भनेका थिए। सोहि अनुसार बिहीबार साँझ नेप्सेको संचालक समितिको बैठक बसेको थियो। सो बैठकले अहिले अभ्यासमा रहेको भारित औसत मूल्य अर्थात अन्तिम मूल्य (Closing Price) गणना विधिबारे धितोपत्र बोर्डसँग आवश्यक निर्देशन माग गर्ने निर्णय गरेको थियो। बोर्डले स्थगन गर्ने निर्देशन दिएपछि यो विधि स्थगन हुन लागेको हो ।
प्रक्रिया मिचियो ?
यो व्यवस्था परिवर्तन गर्नको लागि धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा फेरि संशोधन गर्नु पर्थ्यो। विनियमावलीमा संशोधन आवश्यक परेमा सुरुमा नेप्सेको संचालक समितिले निर्णय गरेर धितोपत्र बोर्डमा मस्यौदा पठाउनु पर्थ्यो। त्यसपछि त्यसलाई लागु गर्ने भएमा धितोपत्र बोर्डको संचालक समितिको बैठकले निर्णय गरेर नेप्सेलाई स्वीकृति दिनु पर्थ्यो। स्वीकृत विनियमावली नेप्सेमा आएपछि पुन: नेप्सेको संचालक समितिको बैठकले यो मिति देखि लागु हुने भनेर लागु हुने मिति तोक्नु पर्थ्यो । अनि बल्ल विनियमावलीको संशोधन लागु हुन्थ्यो।
तर अहिले यो प्रक्रिया पुरा नगरी १५ मिनेट वाला निगम स्थगन हुन लागेको हो। धितोपत्र बोर्डले समय समयमा आवश्यकता अनुसार नेप्सेलाई निर्देशन दिन सक्ने व्यवस्था ऐन मै रहेकोले बोर्डको निर्देशन अनुसार कार्य गर्दा प्रक्रिया नमिचिने नेप्सेको दाबी छ। धितोपत्र बोर्डले बजार संचालकलाई आवश्यकता अनुसार निर्देशन दिन सक्ने व्यवस्था ऐन मै रहेको र बोर्डले सोहि अनुसार निर्देशन दिने तथा नेप्सेले निर्देशन पालना गर्दा प्रक्रिया नमिचिने नेप्सेका अधिकारीहरु बताउछन्।
नेप्सेले भन्थ्यो ‘असल अभ्यास’
१५ मिनेट वाला विधि लागु भएपछि नेप्सेले पटक पटक यसबारे प्रष्टीकरण दिएको थियो। नेप्सेका अनुसार यो विधिमा नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबार (Tick by Tick) को कारोबार मूल्य (Traded Price) लाई सूचीकृत सेयर संख्या (Listed Shares) गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ । अपरान्ह ३:०० बजेपछि भने नेप्सेको स्वचालित प्रणालीले प्रत्येक कारोबार मूल्य (Traded Price) र कारोबार भएका सेयर (Traded Shares) संख्याबाट भारित औसत मूल्य (Weighted Average Price) निकालेर सोका आधारमा नेप्से सूचकांक गणना गर्छ ।
नेप्सेले स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २:४५ देखि ३:०० बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य (Closing Price) गणना गर्छ। स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणाना गर्ने गर्छ ।
तसर्थ नियमित सत्रको कारोबारमा सूचकांक गणना गर्दा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव नहुने र अपरान्ह ३:०० बजेपछिको गणनामा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुने नेप्सेले भनेको छ। यो विश्वव्यापी असल अभ्यासलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराएर लागु गरिएको नेप्सेको भनाई थियो। अब भने यो विश्वव्यापी असल अभ्यासलाई हटाईने भएको छ।
किन ल्याईएको थियो नयाँ व्यवस्था ?
पहिले शेयरबजार बन्द हुनेबेलामा अन्तिम केहि सेकेण्डमा थोरै कित्ता शेयर कारोबार गरेर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लगाउन सम्भव हुने अवस्था थियो। एमकेटी फिचर मार्फत अन्तिम समयमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लगाउने गरेको देखिएको थियो। त्यहि मूल्य नै सो दिनको अन्तिम कारोबार मूल्य (एलटीपी) हुन्थ्यो भने सोहि मूल्य नै दोस्रो दिनको लागि सुरुवाती मूल्य कायम हुन्थ्यो। त्यसलाई रोक्न नै नेप्सेले विनियमावली संशोधन गरेर नयाँ विधि ल्याएको थियो। संशोधित व्यवस्था अनुसार अब २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था थियो। यसो हुँदा २:५९ पछि कम्पनीको शेयर मूल्य सर्किट लागेपनि सर्किट लेभलमा अन्तिम कारोबार मूल्य तय हुँदैनथियो । २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य कायम हुने थियो।
यो लागु भएपछि सम्बन्धित दिनको अन्तिम कारोबार मूल्य (एलटीपी) गणनाको लागि २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य लिईने गरिएको थियो। यसो हुँदा विशेष गरि कम पुँजी भएका अर्थात् लो क्याप कम्पनीको शेयरमा अन्तिम सेकेण्डमा सर्किट लाग्ने क्रम रोकिने विश्वास गरिएको थियो। यसले साना कम्पनीको शेयर मूल्यमा अन्तिम समयमा हुने चलखेल रोकिने विश्वास पनि गरिएको थियो। तर अब यो व्यवस्था फेरेर पुरानै अवस्थामा फर्किने निश्चित भएको छ।
यस अघि: प्रक्रिया पुर्याएर आइतबारबाटै १५ मिनेटको नियम हट्ने सम्भावना कति? नेप्सेले गर्यो यस्तो निर्णय









