काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्युको समय थपिएको छ। नेपाली सेनाले काठमाडौँ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा र कर्फ्युको समय बढाएको हो ।
जस अनुसार यी जिल्लामा भदौ २७ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा रहने छ भने भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु कायम हुने छ । भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म अत्यावश्यक कामको लागि हिड्न सकिने छ।
निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिनेछ ।
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नेछन्। यस्तै, आन्तरिक र अन्तराष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्। आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको परिस्थिति सुरक्षा अनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय र समन्वय गरिएबमोजिम हुनेछ । जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुऱ्याउन सबैमा सेनाले अपिल गरेको छ।
अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने भनि छुट्याईएको समय अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक-सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरु आफ्नो कार्यस्थलसम्म जान र फर्कन लगायतका जरुरी कामको लागि भएकोले उक्त समयमा समेत जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधिहरु गर्न पूर्णतः निषेध गरिएको सेनाले प्रष्ट पारेको छ।









