झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड गर्दा प्राविधिक त्रुटी भएको पाईएको छ । प्राविधिक त्रुटी भएको भन्दै बिक्री प्रबन्धक हिमालयन क्यापिटलले भदौ ९ गते गरिएको बाँडफाँडलाई रद्द गर्दै भदौ १० गते ति शेयर पुन: बाँडफाँड गरेको छ ।
कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर निष्काशन गरेको थियो । भदौ ९ गते सोमबारका दिन स्थानीयलाई बाँडफाँड गरिएको शेयरमा प्राविधिक त्रुटिका कारण अन्यथा हुन गएको भन्दै भदौ १० गते मंगलबारका उक्त साधारण शेयरको पुनः बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको साधारण शेयर पुनः बाँडफाँडमा परेका आवेदकहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट: www.himalayancapital.com बाट हेर्न सकिने क्यापिटलले उल्लेख गरेको छ । बाँडफाँडमा नपरेका शेयर वापतको बाँकी रकम नियमानुसार सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तरण गरिने क्यापिटलले जनाएको छ । सोबाट नियमक निकाय तथा आवेदकहरुलाई पर्न गएको असुबिधाको लागि निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकले क्षमा मागेका छन् ।
भदौ ९ गते नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ पनि बाँडफाँड भएको थियो। सो बाँडफाँड भने यथावत छ।
यस संगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। धितोपत्र बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता शेयर निष्काशन गर्ने छ।
कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८० माघ १० गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।












