व्यवसायी राजेन्द्र खेतान र उनको समूहले लक्ष्मी सनराइज बैंकमा अझै स्वामित्व बढाउने भएका छन्। पछिल्लो समय यस समूहले बैंकमा आफ्नो स्वामित्व २७ प्रतिशत पुर्याईसकेको छ।
राजेन्द्र खेतानको आफ्नो नाममा, आफ्ना परिवारका सदस्यको नाममा, र समूहको लगानी रहेका कम्पनीहरुमा नाममा गरि बैंकको ६ करोड ६० लाख कित्ता बढी शेयर स्वामित्व पुगेको छ। जुन बैंकको कुल पुँजीको २७ प्रतिशत भन्दा धेरै हुन आउँछ। यस हिसाबमा खेतान समूहले लक्ष्मी सनराइज बैंकमा आफ्नो कन्ट्रोल २७ प्रतिशत भन्दा धेरै पुर्याएको छ। अब यस समूहले बैंकमा आफ्नो स्वामित्व ३० प्रतिशत पुर्याउने गरि थप शेयर खरिदको रणनीति लिएको समूह निकट स्रोतले जनाएको छ । कुनै संस्थापक शेयरधनीले शेयर बिक्री गर्न चाहेमा सो खरिद गर्ने र दोस्रो बजारबाट साधारण शेयर समेत खरिद गरेर स्वामित्व ३० प्रतिशत बनाउने योजना यस समूहको रहेको छ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई बोनस शेयरको साटो मिलेसम्म नगद लाभांशको लागि जोड दिन निर्देशन दिईसकेको छ। यसो हुँदा अघिल्लो आर्थिक वर्षकै लाभांश समेत प्राप्त हुने तथा लाभांशको रुपमा नगद नै प्राप्त हुँदा थप लगानी पनि गर्न सहज हुने भएकोले खेतान समूहले थप शेयरको रणनीति लिएको बताईएको छ।
३० प्रतिशत शेयर हुँदा बैंकमा एकल निर्णय गर्न सक्ने अवस्थामा पुग्ने र सिनर्जी बढ्ने पार्टनर पाए बैंकलाई मर्ज गराउने योजना रहेको खेतान निकट स्रोतको भनाई छ। ति स्रोतका अनुसार सिनर्जी आउने गरि मात्र मर्जर गर्ने र त्यसको लागि पहिलो शर्त भनेको विदेशी लगानी रहेको बैंकसँग मात्र मर्जर गर्ने योजना रहेको छ। विदेशी लगानीको बैंकसँग मर्ज गर्दा फरक सिनर्जी र एक्स्पर्टिज आउने सो समूहको विश्लेषण रहेको छ।
यस अघि साविकका लक्ष्मी बैंक र सनराइज बैंक मिलेर २०८० असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार गरेको थियो। बैंकले मर्जरपछि आव २०७९/८० को मुनाफाबाट ७ प्रतिशत र आव २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर दिएको थियो।
तर सोहि समयमा मर्जरमा गएका प्रभु बैंक (प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई गाभेको)ले मर्जरपछि हालसम्म लाभांश दिन सकेको छैन । साथै एनसीसी बैंक र कुमारी बैंक मर्जर भएर कुमारी बैंक बनेकोमा यस बैंकले पनि मर्जर पश्चात लाभांश दिन सकेको छैन । त्यस्तै हिमालयन बैंकले पनि सिभिल बैंकलाई गाभेपछि लाभांश दिन सकेको छैन । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि लाभांश दिन सकेको छैन। यी मर्जरको तुलनामा सनराइज बैंक र लक्ष्मी बैंकको मर्जर निक्कै सफल बनेको र सिनर्जी समेत प्राप्त भएको बैंकको निष्कर्ष छ। अब अझै सिनर्जी दिनको लागि विदेशी लगानीको बैंकसँग मर्जर गराउने खेतान समूहको योजना रहेको बताईएको छ। मर्जरको लागि मुख्य गरि सञ्चालन सिनर्जी र वित्तीय सिनर्जी हेर्ने गरिन्छ ।
हाल नबिल, एनएमबि, नेपाल एसविआई, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, र हिमालयन बैंकमा विदेशी लगानी रहेको छ । जसमा हिमालयन बैंकको विदेशी साझेदार हबिब बैंकले सम्पूर्ण शेयर बिक्री गर्ने प्रक्रिया मै छ। बाँकि रहेका बैंक मध्ये नबिल, एनएमबि, नेपाल एसविआई, र स्ट्याण्डर्ड चार्टर्ड बैंक मर्जरमा नजाने विश्लेषण खेतान समूहको रहेको छ । यसो हुँदा एभरेष्ट बैंक मर्जरको लागि उपयुक्त हुन सक्ने खेतान समूहको बुझाई छ।
यस अघि पनि राजेन्द्र खेतान नै साविकको लक्ष्मी बैंकको अध्यक्ष रहेको बेला एभरेष्ट बैंकसँग मर्जरको लागि प्रक्रिया धेरै नै अगाडी बढिसकेको थियो। तर अन्तिममा स्वाप रेसियो नमिलेपछि सो मर्जर सफल हुन सकेको थिएन। पहिले एक पटक प्रयास भईसकेको र धेरै विषय मिल्ने भएकोले लक्ष्मी सनराइज र एभरेष्ट बैंक मर्जरको सम्भावना देखिएको स्रोतको भनाई छ।
साथै लक्ष्मी सनराइजमा खेतानले निर्णय गरे हुने र एभरेष्टमा पनि सिंगल प्रमोटरले नै निर्णय गर्दा हुने भएकोले निर्णय प्रक्रिया सहज हुने विश्वास सो समूहको छ। एभरेष्ट बैंकमा भारतको पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत शेयर छ । नेपालीतर्फ बैंकमा सबैभन्दा ठूलो शेयरधनी बिके श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ हुन्। उनी प्रतिमासँग डिल गरे हुने खेतान समूह बताउछ।
त्यस्तो त् हाल एभरेष्ट बैंकका सीइओ रहेका सुदेश खालिङ खेतानले विश्वास गरेका पात्र रुपमा चिनिन्छन्। २०७१ साउनमा खेतानले खालिङलाई लक्ष्मी बैंकको सीइओ बनाएका थिए। अहिले पनि एभरेष्ट बैंकसँग मर्ज भएमा मर्जरपछि खालिङलाई नै सीइओ बनाइने बताईएको छ। एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधनपछि एभरेष्टमा शक्तिशाली नेतृत्वकर्ता नभएको र सो स्थान खेतानले लिन चाहेको पनि बताइन्छ। लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंक मर्जर भएमा देश कै ठूलो बैंक बन्ने र त्यसमा खेतान समूहको स्वामित्व अन्तिम स्वाप रेसियोको आधारमा १५ देखि २० प्रतिशतको हाराहारीमा रहने बताईएको छ। जसबाट ठूलो बैंकको नेतृत्व गर्ने खेतानको चाहना पनि पुरा हुने स्रोतको भनाई छ।
यद्यपि लक्ष्मी सनराइज बैंकका एक संचालक समिति सदस्यले भने हाल संचालक समितिमा मर्जरबारे केही पनि छलफल नभएको बताए । उनका अनुसार पछिल्लो समय मर्जरको बारे कुनै छलफल भएको छैन । एभरेष्ट बैंक स्रोतले पनि तत्काल कुनै पनि बैंकसँग कुनै पनि मर्जरको योजना नरहेको जनाएको छ। तर खेतानले भने बाहिर सबै मिलाएर अनि बल्ल संचालक समितिमा लैजाने तयारी गरेको हुन सक्ने स्रोतको भनाई छ।
यदि लक्ष्मी सनराइज बैंक र नेपालको कुनै वाणिज्य बैंकसँग मर्जर सम्भव नभएमा लक्ष्मी सनराइज बैंकले विदेशी रणनीतिक साझेदार ल्याउने योजना बनाएको छ। जसरी पनि विदेशी एक्स्पर्टिज र एक्पोजर खोजेको बैंकले सकेसम्म नेपाल मै मर्जर गर्ने र नसके विदेशी रणनीतिक साझेदार ल्याउने तयारीमा बैंक रहेको बुझिएको छ।
बैंकले गत असारमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच साझेदारी सम्झौता गरेको थियो । बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासका लागि आईएफसीसँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको थियो । बैंकले लगानी सहितको विदेशी साझेदार पनि खोजिरहेको बताईएको छ।
राजेन्द्र खेतानलाई मर्जर किङको रुपमा पनि चिनिन्छ। उनले २०६१ साल मै लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई मर्ज गराएका थिए, जसलाई बैंकिंग क्षेत्रको पहिलो मर्जर भन्ने गरिन्छ । पछि लक्ष्मी बैंक र सनराइज बैंकलाई पनि मर्ज गराएर अहिले लक्ष्मी सनराइज बैंकको रुपमा रहेको छ।
खेतानले बैंकमा मात्र नभई बीमामा पनि मर्जर गरेका छन् । खेतान मूख्य लगानीकर्ता रहेको प्राइम लाइफ इन्स्योरेन्स थियो । प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेनस र युनियन लाइफ इन्स्योरेन्स मर्ज भएर अहिले हिमालयन लाइफ इन्स्योरेन्स संचालनमा छ। हिमालयन जनरल इन्स्योरेन्स र खेतानको लगानी रहेको एभरेष्ट इन्स्योरेन्स पनि मर्ज भएर अहिले हिमालयन एभरेष्ट इन्स्योरेन्स संचालनमा छ।
यस अघि : लक्ष्मी सनराइज बैंकमा २७ प्रतिशत स्वामित्व पुर्याएपछि खेतान समूहको ध्यान मर्जरमा छ ?
लक्ष्मी सनराइज बैंकमा खेतान समूहले ह्वात्तै बढायो स्वामित्व, ६ करोड ६० लाख कित्ताको होल्डिङ













