नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल भित्रको विवाद छताछुल्ल भएको छ । गत साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चुनिएका आकाश गोल्छालाई अध्यक्ष करण चौधरीले एकलौटी रुपमा सदस्यमा झारिदिएपछि विवाद थप चुलिएको हो ।
यसपछि बिहिबार आकाश गोल्छा पक्षले पत्रकार सम्मेलन नै गरेर अध्यक्ष चौधरीले ज्यादती गरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ । अध्यक्ष चौधरीले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आफूसँग गरेको लिखित सहमति विपरितका गतिविधि गर्दै हिडेको र नाडालाई निजी कम्पनी जसरी चलाउन थालेको भन्दै गोल्छा पक्ष असन्तुष्ट बनेको हो ।
‘हामीले पूर्व अध्यक्षहरुको समेत उपस्थितिमा नाडामा सर्वसम्मत नेतृत्व चयन गर्ने र पालैपालो अध्यक्ष हुने भनेर सहमति गरेका थियौँ, लिखित रुपमै भएको सहमति पनि पालना भएन’ गोल्छाले भने, ‘करण जीले अध्यक्ष बनेपछि सहमतिहरुलाई वेवास्ता गर्दै आफू खुशी गर्न थाल्नुभयो ।’
गोल्छा पक्षमा रहेका कार्यसमिति सदस्य सुनिल रिजालले लिखित रुपमा कागजात माग गर्दा पनि नदिने गरेको गुनासो गरे । पत्रकार सम्मेलनमा निकै आक्रोशित सुनिएका उनले आफूहरुले माग गरेका कागजात नदिए नाडामा तालाबन्दी गर्ने र अध्यक्षलाई कालोमोसो दल्ने सम्मको चेतावनी दिएका छन् ।
‘नाडमा गोप्य भन्ने केही पनि हुँदैन, तर हामीले माग गरेका कागजातहरु दिन मिल्दैन भनेर दिइएको छैन । यहीँ ज्याजती सहन नसकेर रिद्दि कार्कीले राजीनामा दिनुपर्ने अवस्था आयो’ उनले भने, ‘यदि कागजात नदिए नाडामा ताला लगाउनेदेखि अध्यक्षलाई कालोमोसो दल्ने सम्मको स्थिति आउन सक्छ ।’
उनले जुनसुकै हालतमा पनि नाडालाई कमजोर पार्न नदिइने बताउँदै अध्यक्षले यस्तै रवैया कायम राखे उनीविरुद्द अविश्वासको प्रस्ताव ल्याएर विशेष साधारणसभा बोलाउने र त्यसबाट आकाश गोल्छालाई चयन गर्ने पनि बताए ।
पत्रकार सम्मेलनमा गोल्छासहित सुनिल रिजाल, सञ्जय खेतान र प्रदीपमान प्रधान सहभागी थिए ।













