Tuesday, July 21, 2026
spot_img

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

spot_img

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन् ।

भेटका क्रममा दुवै पक्षले नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व तथा भारत र चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा दुई चेम्बरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी सहकार्यलाई संस्थागत बनाउने सहमति गरेका छन् ।

सहकार्यअन्तर्गत स्पेन चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्च महिनामा करिब आठदेखि नौवटा स्पेनी कम्पनीहरूको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । उक्त भ्रमणका क्रममा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ लगानीका अवसरहरूको खोजी गर्न व्यवसायिक फोरम आयोजना गर्ने योजना रहेको छ ।

छलफलका क्रममा व्यापार तथा लगानी प्रवद्र्धनका लागि सरकारी तहको सहकार्यलाई पनि प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू) र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले प्राप्त गर्न सक्ने सम्भावित अवसरहरूको उपयोग गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।

दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधन क्षेत्रलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति जनाएका छन् ।
बैठकमा नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी तथा सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादनहरूको निर्यात सम्भावना रहेको उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य उपकरण, पानी प्रशोधन तथा पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउँदै द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, साथै डिजिटल व्यापार र ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा समेत जोड दिएका छन् ।

दक्षिण एसियामा अनुभव हासिल गरेका स्पेनी कम्पनीहरू नेपालका पूर्वाधार विकास, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने विषयमा पनि छलफल भएको थियो ।

भेटवार्ताको अन्त्यमा दुवै चेम्बरका प्रतिनिधिहरूले संस्थागत सहकार्य, नियमित व्यवसायिक भ्रमण तथा निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेनबीचको व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

इप्पानको विधान संशोधन प्रशासनद्वारा स्वीकृत

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विधान संशोधन...
spot_img