गत आर्थिक वर्ष २०८२/०८३ मा करिब ८ लाख नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली श्रमिक विभिन्न देशमा पुगेका हुन् ।
वैदेशिक रोजगारीमा जाने मध्येमा ६ लाख ९७ हजार ९१ जना पुरुष र ९५ हजार ९१ जना महिला छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
नेपाली श्रमिकहरूको पहिलो गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५ सय ८० जना युएई गएका छन् ।
त्यसपछि मलेसिया जानेको संख्या १ लाख ३२ हजार ६४६ जना, कतारमा १ लाख ३२ हजार ५१ जना र साउदी अरब जानेको संख्या १ लाख २४ हजार ५८३ जना रहेका छन् ।
विदेश जानेमध्ये दक्ष जनशक्ति ४ लाख ८२ हजार ६४३ जना र अदक्ष १ लाख ९० हजार २६४ जना, अर्ध दक्ष १ लाख १४ हजार ६१४ जना रहेका छन् । यस्तै, व्यवसायिक जनशक्ति ३ हजार ५७० जना र उच्च दक्ष जनशक्ति १ हजार ९६ जना रहेका छन् ।









