भिजन लुम्बिनी उर्जा कम्पनीले श्रेष्ठ इनर्जी सोलुसन प्रालिबाट १५ करोड रुपैयाँ प्राप्त गरेको छ। श्रेष्ठ इनर्जी सोलुसनले १३ मेगावाट क्षमताको अपर सेती – १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
अपर सेती – १ जलविद्युत आयोजनालाई क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न तथा भिजन लुम्बिनीको पूर्वाधार एवं सुविधाहरू उपयोग गर्न दिएबापत भिजन लुम्बिनीले श्रेष्ठ इनर्जी सोलुसनबाट १५ करोड प्राप्त गरेको हो। श्रेष्ठ इनर्जीले प्रबद्धन गर्ने अपर सेती – १ जलविद्युत आयोजनालाई भिजन लुम्बिनीद्वारा प्रबद्धित सेती नदी जलविद्युत आयोजना (२५ मेगावाट) को क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न भिजन लुम्बिनीले सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
श्रेष्ठ इनर्जीबाट प्राप्त रकम भिजन लुम्बिनीले सोहि कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ । भिजन लुम्बिनीको असार २८ गते बसेको संचालक समितिको बैठकले अपर सेती – १ जलविद्युत आयोजना (१३ मेगावाट) को निर्माण तथा विकासका लागि श्रेष्ठ इनर्जी सोलुसन प्रा. लि. मा रु १५ करोड लगानी गर्ने निर्णय गरेको हो।









