प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् । बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ।
आजको बैठकले राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गर्भनर नियुक्त गर्न सक्ने बताईएको छ । नयाँ सरकार गठन भए लगत्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका थिए, त्यसपछि सो पद रिक्त छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नहुँदा बजेट निर्माण प्रक्रिया प्रभावित भएपछि आज नयाँ नियुक्त गर्न लागिएको हो।
त्यस्तै गत फागुन २४ गतेदेखि नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर रहेका डा.निलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल गत फागुन २४ गते सकिएको थियो।
डेपुटी गभर्नर नियुक्तिको लागि राष्ट्र बैंकका गभर्नरले सरकारलाई सिफारिस गर्नु पर्ने व्यवस्था छ । डेपुटी गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा गभर्नरले विशिष्ट श्रेणीका अधिकृतहरुमध्ये अर्थात् राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु मध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नामावली सिफारिस गर्नु पर्ने व्यवस्था छ। अर्थात् दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नु पर्ने छ। हाल कार्यरत १८ जना कार्यकारी निर्देशक नै डेपुटी गर्भनरको सिफारिसको लागि योग्य हुन्छन् । डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति राष्ट्र बैङ्कको सेवाबाट स्वतः निवृत्त हुने व्यवस्था छ।













