इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (IRGC) ले आजबाट अमेरिकाका प्रमुख प्रविधि कम्पनीहरूमाथि हमला गर्ने चेतावनी दिएको छ। IRGC ले मार्च ३१ मा जारी गरेको आधिकारिक विज्ञप्तिमा १८ वटा प्रमुख अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै आज (अप्रिल १) साँझ ८ बजे तेहरान समयदेखि हमला सुरु गर्ने बताएको छ।
इरानले उल्लेख गरेको ठूला कम्पनीमा एप्पल, गुगल, एनभीडीया , टेस्ला, माइक्रोसफ्ट, मेटा , इन्टेल, आईबीएम, सिस्को, एचपी, डेल, ओरेकल, प्यालान्टिर , बोइङ लगायतका कम्पनीहरू छन् । IRGC ले यी कम्पनीहरूलाई “आतंककारी जासुसी संस्था” भनेर आरोप लगाएको छ। उनीहरूले अमेरिका र इजरायलको “लक्षित हत्या” अभियानमा सहयोग गरेको दाबी गरेका छन्।
यी कम्पनीका कर्मचारीहरूलाई तुरुन्तै कार्यालय छोड्न भनिएको छ। कम्पनीका सुविधा नजिक (१ किलोमिटर भित्र) बस्ने स्थानीय बासिन्दालाई पनि सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। “प्रत्येक हत्या र आतंककारी कार्यको बदलामा यी कम्पनीका इकाइहरू नष्ट गरिनेछ” — IRGC को विज्ञप्तिमा उल्लेख छ। यो हमला मध्यपूर्व (खाडी क्षेत्र) मा रहेका यी कम्पनीका कार्यालय, शोरुम, डाटा सेन्टर वा अन्य पूर्वाधारलाई लक्षित गर्ने बताइएको छ।
अमेरिकी सेना र सरकारले यो चेतावनीलाई गम्भीर रूपमा लिएका छन्। ह्वाइट हाउसले भनेको छ — “अमेरिकी सेना कुनै पनि हमलालाई रोक्न पूर्ण रूपमा तयार छ।”
यो घटनाले विश्वव्यापी प्रविधि बजार र मध्यपूर्वको सुरक्षा स्थितिमा थप तनाव बढाएको छ।












