खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मधेस प्रदेश कार्यालय जनकपुरधामले तीन महिनामा ११ हजार क्वीन्टल धान खरिद गरेको छ । कम्पनीले महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्वीन्टल धान खरिद गरेको हो ।
कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषाका ३ सय किसानबाट ४ करोड २३ लाख २४ हजार रुपैयाँको धान खरिद गरिएको हो । गोदाम भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको उनको भनाइ छ ।
कार्यालयले प्रति क्वीन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरेको हो ।
मंसिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो । कम्पनीले प्रति किसान अधिकतम ५० क्वीन्टलसम्म धान खरिद गर्दै आएको छ । तर, स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्वीन्टलसम्म धान खरिद गरिएको कार्यालयले जनाएको छ । धानको भुक्तानी भने किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ ।
यस वर्ष कार्यालयले सो क्षेत्रबाट १३ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर गोदाम भरिएकाले अहिले धान खरिद बन्द गरिएको छ ।












